काठमाडाैं। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्रवर्द्धन गर्न आफू तत्पर रहेको बताएका छन्।
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग भएको भेटमा उनले पारस्परिक सम्बन्ध प्रवर्द्धनका लागि नेपालसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएको इस्लामाबादस्थित नेपाली राजदूतावासले जनाएको छ ।
राजनीतिमा प्रवेश गर्नुअघि स्वतन्त्र नागरिकका रूपमा आफूले गरेको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री खानले सांस्कृतिक एवं भौगोलिक विविधताका कारण पाकिस्तान र नेपालबीच धेरै समानता रहेको बताए ।
सद्भाव, पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल र पाकिस्तानबीचको सम्बन्ध सौहाद्रपूर्ण रहेको चर्चा गर्दै राजदूत अधिकारीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का संस्थापक दुवै राष्ट्रको संयुक्त राष्ट्रसंघलगायत अन्य महत्वपूर्ण मञ्चहरूमा समान धारणा रहेको बताए।
उनले नेपाल र पाकिस्तानबीच सांस्कृतिक एवं साहसिक पर्यटन प्रवर्द्धनका प्रशस्त सम्भावना रहेका बताउँदै त्यसनिम्ति आफूले हरसम्भव प्रयास गर्ने दृढता व्यक्त गरे ।
कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा पाकिस्तानले गरेको नैतिक एवं आर्थिक सहयोगप्रति राजदूत अधिकारीले कृतज्ञता ज्ञापन गरे।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।