• मुगु बस दुर्घटना : मृतकको संख्या ३२ पुग्यो

  • नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको यात्रुबाहक बस छायाँनाथ रारा नगरपालिका ७ पिनाटपने खोलामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

    घटनास्थलमै २४ जनाको मृत्यु भएको थियो भने उद्धार र उपचारका क्रममा थप ८ जनाको मृत्यु भएको हो । उद्धार गरि हेलिकप्टरबाट नेपालगन्ज पठाइएका १२ जनामध्ये ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    भे १ ख ३१६७ नम्बरको बस आज दिउँसो एक बजेतिर दुर्घटनामा परेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बसमा ३९ यात्रु सवार थिए ।

    बाँकी घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मुगुको ताल्चा विमानस्थलतर्फ पठाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

    सामान्य घाइतेको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका साथै सबै सुरक्षा निकायका प्रमुखहरु खटिरहेको जनाइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय