वाशिङटन डीसी । फ्लाइट ९३ आफ्नो निर्धारित समय भन्दा ४० मिनेट ढिलो थियो । युनाइटेड एयरलाइन्सको बोइङ ७५७ विमान न्युयोर्क अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा उडान भर्न ठिक्क परेको थियो । अरब मूलका चारजना मानिसहरू विमानको फष्ट क्लासको छ वटा पङ्क्तिमा छरिएर बसेका थिए । उनले आफ्नो फिर्तीको टिकट किनेका पनि थिएन । एक तर्फी टिकट मात्रै थियो ।
एक रात अघि उनीहरूले अरबी भाषामा लेखिएको एउटा निर्देशन पढेका थिए । यसमा आफूलाई हरेक लोभबाट अलग्गै राख्न, सङ्घर्षका लागि आफैँलाई बलियो बनाउन र मर्ने शपथ दोहोर्याउँदै बारम्बार भगवानलाई सम्झना गर्न भनिएको थियो ।
‘यति सावधानीपूर्वक तयारी गर्दा पनि अल–कायदाले उडान ढिलो हुने सम्भावनालाई विचार गरेन । उनको योजना पहिलो पटक सन् १९९६ मा अफगानिस्तानको पहाडमा बनाइएको थियो र त्यसपछिका केही वर्षहरूमा त्यसमा परिवर्तनहरू गरिएको थियो ।’ टम म्याकमिलनले आफ्नो पुस्तक ‘फ्लाइट ९३ः द स्टोरी अफ द आफ्टरमाथ एन्ड द लिगेसी अफ अमेरिकन करेज’मा लेखेका छन् ।
अपहरणका लागि छानिएका चार उडानहरू उही दिन बिहान ७ः४५ देखि ८ः१० बजेको बीचमा उडान भर्नेवाला थिए । विमान उडेको १५ मिनेटभित्रै अपहरण गर्न थालिने निर्णय गरिएको थियो । सबै चिज योजनाबमोजिम र समयमै भएको भए चारवटा विमान एकपछि अर्को गर्दै ठुला भवनहरूमा ठोक्किने थिए र अमेरिकी राजनीतिज्ञ र सैन्य नेतृत्वले सोच्ने समय पनि पाउने थिएन ।
विमानहरूलाई ककपिटमा घुसपैठबारे चेतावनी
नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डको रेकर्ड अनुसार बिहान ठिक ८ बजेर ४१ मिनेट ४९ सेकेन्डमा एयर ट्राफिक कन्ट्रोलरले फ्लाइट ९३ का क्याप्टेन जेसन डल र फष्ट अफिसर लेरोय होमरलाई रनवेबाट उड्न सक्ने बताए बताए । यसको एक मिनेट पछि फष्ट क्लासमा बसेका जियाद जर्राह, अहमद अल हज्नवी, अहमद अल नामी र सईद अल घामदीले आफूलाई मिशनका लागी तयार पारे । त्यो मंगलबारको दिन थियो । तारिख थियो सन् २००१ को सेप्टेम्बर ११ । अन्ततः फ्लाइट ९३उड्यो । विमान लगभग खाली थियो ।
१८२ जना यात्रु क्षमता भएको विमान जम्मा ३३ जना यात्रु बोकेर उडेको थियो । ठिक ८ बजेर ४० मिनेटमा एउटा विमान प्रति घण्टा ५ सय किमिको गतिमा वर्ल्ड ट्रेड सेन्टरमा ठोक्कियो । विमान सो गगनचुम्बी भवनको ९३ र ९९ औँ तल्लाको बीचमा ठुलो प्वाल बनाएर निस्कियो । यसको १७ मिनेट पछि ९ बजेर ३ मिनेटमा अर्को विमान साउथ टावरमा ठोक्कियाे । यसपछि मात्रै अमेरिकी प्रशासनले अमेरिकामाथि हमला भइरहेको छ भन्ने महसुस गर्यो ।
नौ बजेर १९ मिनेटमा युनाइटेड फ्लाइटको डिस्प्याचर एड बालिन्जरले सो क्षेत्रमा उडान गरिरहेका १६ विमानहरूका लागि ‘ककपिट घुसपैठबाट सावधान रहनुस् । न्यूयोर्कको ट्रेड सेन्टर भवनमा दुईवटा विमान ठोक्किएका छन्’ भनेर चेतावनी जारी गरे । फ्लाइट ९३ ले यो सन्देश ९ बजेर २४ मिनेटमा पाएको फ्लाइटको रेकर्डले देखाएको छ । नौ बजेर २६ मिनेटमा क्याप्टेन डलले बलिन्जरलाई ‘एड कन्फर्म लेटेस्ट म्यासेज’ भनेर जवाफ दिए । यसको ठिक दुई मिनेट पछि, नौ बजेर २८ मिनेटमा फ्लाइट ९३ को ककपिटको ढोका बाहिर हल्लाखल्ला सुनियो ।
एयर ट्राफिक कन्ट्रोलरले समेत सुने आवाज
निधारमा रातो स्कार्फ लगाएर चारैजना अपहरणकारीहरू हतार–हतार आफ्नो सिटबाट उठे । उनीहरू ९ बजेर २८ मिनेटमा ककपिटमा छिरे । ठ्याक्कै त्यतिबेला जहाज ३० सेकेन्डमा ६८० फिट तल आउनु यसैको प्रमाण थियो । त्यही नै बेला क्लिभल्याण्डको एयर ट्राफिक कन्ट्रोलले ’मेडे…गेट आउट अफ हियर,’ भनेको सुनियो । ३० सेकेन्डपछि पुनः सोही वाक्य तीन पटक सुनियो । पृष्ठभूमिमा जोरजर्बदस्तीको मलिनो आवाज पनि सुनिन्थ्यो । तल जमिनमा भएका मानिसहले ककपिटमा के भइरहेको छ भनेर थाहा पाउनु भनेर डाल वा होमरले जानाजानी माइक्रोफोनको बटन थिचेर पनि यस्तो आवाज आएको हुन सक्छ ।
‘अर्को ९० सेकेन्डमा क्लिभल्याण्ड एयर ट्राफिक कन्ट्रोलरका जोन वर्थले विमानसँग सम्पर्क गर्ने सात पटक प्रयास गरे । तर कुनै प्रतिक्रिया आएन । केही समयपछि उनले यसको कारण थाहा पाए ।’ आफ्नो पुस्तक फल एन्ड राइज द स्टोरी अफ ९÷११ मा मिचेल जुकफले लेखेका छन् । ९ बजेर ३१ मिनेटमा एक जना अज्ञात व्यक्तिले छिटो छिटो सास फेर्दै अनौठो स्वरमा बोल्न थाले । यो सन्देश विमानमा बसेका यात्रुका लागि थियो । तर एयर ट्राफिक कन्ट्रोलमा यी सन्देश सुनिएको थियो ।
सन्देश यस्तो थियोः महिला र सज्जनहरू । म क्याप्टेन बोलिरहेको छु । कृपया सबै जना आ–आफ्नो सिटमा बस्नुहोस् । विमानभित्र बम छ ।
त्यतिबेला सम्म जियाद जर्राहले फ्लाइट ९३ लाई नियन्त्रणमा लिइसकेका थिए ।
सिकारुले झैँ विमान तल ल्याउन थाले
जर्राहले फ्लाइट ९३ लाई वाशिंगटनतर्फ मोडे । बिहान ९ः३९ मा उनले विमानलाई ४० हजार फिटको उचाइमा पुर्याएका थिए । त्यसपछि उनले कुनै शिकारु चालकले झैँ विमानलाई ह्वात्तै तलतिर झारे । यसअघि बिहान ९ बजेर ३३ मिनेटमा ककपिटमा उपस्थित एउटी महिलाले, ‘प्लिज, प्लीज, प्लीज, प्लीज, प्लीज, प्लिज, मलाई केही नगर्नुस्…. हे भगवान ।’ भनेको सुनियो । यो आवाज सम्भवतः फष्र्ट क्लासको महिला चालक दलकी सदस्य डेबी वेल्श वा वान्डा ग्रीनको हुन सक्ने जाँचकर्ताहरूको ठम्याई छ ।
अपहरणमा परेकार चार वटै विमानमा हमला महिला चालक दलका सदस्यहरूमाथि हिंसाबाट सुरु भएको थियो । नौ बजेर ३५ मिनेटमा फेरि एक महिलाको आवाज फेरि सुनियो, ‘म मर्न चाहन्न ।’ भ्वाइस रेकर्डरको ट्रान्सक्रिप्ट अनुसार, ९ बजेर ३७ मिनेटमा ककपिट भित्र सबै प्रतिरोध समाप्त भइसकेको थियो । ‘सबै ठिक छ । मैले मेरो सबै काम सके ।’ एक अपहरणकर्ता (सम्भवतः घामदी अल–सयद)ले यसो भनेको सुनिन्छ ।
त्यसपछि महिला चालक दलका सदस्यको आवाज सुनिएन । त्यतिबेलासम्म उनको हत्या भइसकेको थियो होला ।
फोन गरेर आफन्तहरूलाई सम्पर्कको प्रयास
९ बजेर ३९ मिनेटमा जर्राहले उदघोषणा गर्ने दोस्रो प्रयास गरे । यस पटक उनको आवाज पहिलेको भन्दा निकै नियन्त्रित र सहज थियो । ‘म क्याप्टेन बोलिरहेको छु । तपाईँहरू सबै आ–आफ्नो सिटमा बस्नुस् भन्ने म चाहन्छु । जहाजभित्र बम भेटिएको छ र हामीहरू विमानस्थलमा फर्किन थालेका छौँ । हाम्रा केही मागहरू छन् । त्यसैले, सबै चुपचाप लागेर बसिदिनु होला ।’
युनाइटेड एयरलाइन्सको विमानभित्र यात्रु र चालक दललाई विशेष प्रविधिसहितको ‘भेरिजोन’ इयरफोनमार्फत हावाबाट जमिनमा कुरा गर्ने सुविधा थियो । विमान अपहरण भएको ३० मिनेटभित्रै जहाजमा रहेका १२ जना यात्रुले २३ र ३४ औँ पङ्क्तिको बीचमा राखिएका इयरफोनबाट तल ३५ वटा कल गरेका थिए । तीमध्ये २० वटा कल तुरुन्तै काटियो । तर १५ वटा कलमा भने कुराकानी भयो । यी कुराकानीले त्यस समयमा फ्लाइट ९३ भित्र के भइरहेको थियो भनेर धेरै सङ्केतहरू दिएका छन् । सबैभन्दा पहिले टम बर्नेछले ९ बजेर ३० मिनेटमा क्यालिफोर्नियामा आफ्नी पत्नी डिनालाई फोन गरेका थिए ।
‘डिनाले सोधिन्, ‘टम, तिमी ठिक छौ?’ टमले जवाफ दिए, ’होइन, म ठिक छैन । म अपहरण भएको विमानभित्र छु । अपहरणकर्ताहरूले एक व्यक्तिलाई चक्कु हानिसकेका छन् । अहिले हामीहरूलाई विमानभित्र बम रहेको बताइरहेका छन् । यसबारे प्रशासनलाई जानकारी गराऊ ।’ आफ्नो पुस्तक ‘द ओन्ली प्लेन इन द स्काई’ मा ग्यारेट एम. ग्राफले लेखेका छन् ।
यात्रुहरूलाई विमानको पछिल्लो हिस्सामा लगियो
विमानको महिला चालक दल सदस्य (परिचारिका) स्यान्डी ब्रेडशाले सबैभन्दा पहिले विमानको अवस्थाबारे युनाइटेड एयरलाइन्सलाई जानकारी दिइन् । ९ बजेर ३५औँ मिनेटमा उनले ३३ औँ पङ्क्तिबाट सान फ्रान्सिस्कोको मर्मतसम्भार कार्यालयमा फोन गरिन् अनि हमलाकारीहरूले ककपिट नियन्त्रणमा लिएको र बाँकी सबै यात्रुलाई विमानको पछिल्लो हिस्सामा ल्याइएको भनेर प्रबन्धकलाई बताइन् । स्यान्डी छ मिनेटसम्म लाइनमा थिइन् । प्रबन्धकका अनुसार उनको आवाज अचम्मलाग्दो गरी मिहिन र सावधान थियो ।
‘यसबीचमा मार्क बिङ्घमले आफ्नी आमालाई फोन गरे – म मार्क बिङ्घम बोलिरहेको छु ।’ टम म्याकमिलन लेख्छन् । उनी सायद यति धेरै दबाबमा थिए कि उनले आमासँग कुरा गर्दा पनि आफ्नो पूरा नाम भने । ‘म तपाईलाई निकै धेरै माया गर्छु । म हाल सान फ्रान्सिस्को जाने विमानभित्र छु । तीन जनाले विमान आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरूसँग बम छ भनेर भनिरहेका छन् ।’ त्यसपछि उनकी आमा एलिसले उनीहरू को हुन् भनेर सोधिन् । तर बिंगमले यो प्रश्नको उत्तर दिएनन् । उल्टै ‘तपाई मलाई विश्वास गर्नुस्, म जे भनिरहेको छु बिलकुल सत्य बोलिरहेको छु ।’ भनेर भने ।
विमानहरूलाई तुरुन्तै अवतरण गर्न भनियो
यसैबीच, जियाद जर्राहको घोषणा सुन्ने बित्तिकै क्लिभल्याण्ड एयर ट्राफिकले तुरुन्तै प्रतिक्रिया दिँदै अगाडि बढ्न भन्यो । तर ककपिटबाट यसको कुनै जवाफ आएन । यसैबीच, एयर कन्ट्रोलर जोन वर्थका लागि सबैभन्दा ठुलो चुनौती खडा भयो । संघीय उड्डयन प्रशासन (एफएए)ले ९ बजेर ४२ मिनेटमा अमेरिकी हवाई क्षेत्रमा उडिरहेका सबै नागरिक विमानहरूलाई नजिकैको एयरपोर्टहरूमा अवतरण गर्न आदेश दियो । झटपट सबै विमान तल ओर्लन थाले । तर ओहायो माथिबाट उडेको फ्लाइट ९३ मा यसको कुनै असर देखिएन । विमान वाशिंगटन डीसी तर्फ उडी नै रह्यो ।
यतिबेलासम्म अमेरिकीहरूले फ्लाइट ९३ ह्वाइट हाउस वा क्यापिटल हिलतर्फ गइरहेको अन्दाज गरिसकेका थिए । मिचेल जुकोफले लेख्छिन्, ‘क्यापिटल हिलमा एकजना प्रहरी अधिकार एउटा विमान आइरहेको छ, बाहिर निस्क भन्दै चिच्याउँदै हलमा दौडिए ।’ यो सुन्नेबित्तिकै आत्तिएका महिलाहरु खाली खुट्टा भवन बाहिर दौडिए । खतराको साइरन बज्न थाल्यो । कांग्रेसका केही सदस्य रुखमुनि भेला हुन थाले । सशस्त्र प्रहरी अधिकारीहरूले अमेरिकी सिनेटका नेताहरूलाई शीतयुद्धको समयमा बनाइएका बंकरहरूभित्र लगे ।
प्रतिकारको योजना
यसैबीच विमान ४० हजार फिटको उचाइबाट झरेर २० हजार फिटको उचाइमा आएको थियो । जियाद जर्राहलाई विमानलाई उडाउन कठिन भइरहेकोले यस्तो भएको थियो सेप्टेम्बर ११ का अपहरणकर्ताहरू मध्ये कमर्शियल पाइलटको लाइसेन्स नभएको एक मात्र व्यक्ति जियाद जर्राह थिए । अरूको तुलनामा उनले विमान उडाउने प्रशिक्षणमा कम समय खर्चिएका थिए । यसैबीच, यात्रुहरू अपहरणकारीहरूको प्रतिकार गर्ने योजना बनाउन लागे ।
आफूहरूले केही गर्ने योजना बनाएको टम बर्नेटले आफ्नो पत्नी डीनालाई फोनमा भने ।
‘तिमीहरूलाई कसले सहयोग गर्छ ?’ यात्रीहरुले आक्रमणकारीहरूलाई हमला गर्ने सोचिरहेका थिए । हतियारको रुपमा के प्रयोग गर्छौ भनेर पत्नीले सोधेको प्रश्नमा टमले खाजाका लागि आएको बटर नाइफ भएको बताए । आफूहरूसँग प्रतिकारको विकल्प नभएको टम बिमरले लिजा जेफरसनलाई भनेका थिए ।
हमला….
बिहान ९ बजेर ५३ मिनेटमा जियाद जर्राह र सईद अल घामदीले पहिलो पटक विमानमा सवार यात्रुहरूले पनि विद्रोह गर्न सक्छन् भन्ने महसुस भयो । ककपिट बाहिर उभिरहेका अहमद अल हज्नावी र अहमद अल नामीले यात्रुहरूले जर्राह र सईद अल घामदीलाई लगातार फोन गरिरहेको, एक आपसमा छलफल गरेको र आफूहरूलाई घुरेर हेरिरहेका छन् भनेर बताए ।
लक्ष्यमा पुग्न अझै आधा घण्टा लाग्ने जर्राहलाई थाहा थियो । ’विद्रोही यात्रुहरू विमानको बीचमा भेला भए । उडान परिचर स्यान्डी ब्राडशाले अपहरणकर्ताहरूलाई फ्याँक्नका लागि विमानको पछाडिको भागमा पानी उमापिरहेकी थिइन् । खाना राख्ने ट्रलीले ककपिटको ढोका फुटाल्ने सोच बनेको थियो सायद । श्रीमतीले के तपाईँहरू आक्रमण गर्न पूर्ण रूपमा तयार हुनुहुन्छ भनेर सोध्दा बर्नेटले हामी तयार छौँ भनेर भनेका थिए ।
यात्रुहरूले ककपिटमा धावा बोले
यात्रुहरूले ठिक ९ बजेर ५७ मा हमला सुरु गरे । उड्डयनको इतिहासमा निहत्था यात्रुले विमान अपहरणकारीलाई यसरी आक्रमण गरेको घटना कहिल्यै देखिएको थिएन । त्यस बेला एलिजाबेथ वैनिया आफ्नो सौतेनी आमासँग फोन लाइनमा थिइन् । ‘यिनीहरू ककपिटमा पस्ने तयारी गरिरहेका छन् । म पनि जानुपर्छ । म तपाईँलाई धेरै माया गर्छु । गुड बाई ।’ यति भनेर उनले फोन राखिन् । त्यही समयमा स्यान्डी ब्राडशले पनि आफ्ना श्रीमान्लाई भनिन्, ‘सबैजना फर्स्ट क्लासतर्फ जाँदैछन् । म पनि त्यहाँ जान पर्छ । बाई ।’
यसरी ७५७ विमानको २० इन्च साँघुरो गल्ली छिचोलेर यात्रुहरूले ककपिटमा आक्रमण गरे । विमान उडाइरहेका जर्राह र घामदीले यिनीहरूको आवाज सुने । यस अघि नै उनीहरू दुवै जनाले विमान उडाउन निकै कठिन भइरहेको थियो । ककपिट बाहिरबाट आइरहेको आवाजले उनीहरू थप विचलित भए । ९ बजेर ५७ मिनेटमा जर्राहले कराएर त्यहाँ केह भइरहेको छ भनेर सोधेको भ्वाइस रेकर्डरको ट्रान्सक्रिप्टमा सुनिएको छ । त्यति नै बेला ककपिट बाहिर लडाई भइरहेको आवाज सुनिएको छ ।
यात्रुहरूको सन्तुलन बिग्रियोस् भनेर जर्राहले विमानको योकलाई दायाँबाट बायाँ घुमाउन थाले । त्यसपछि बर्नेटको ठूलो स्वर सुनियो, ‘ककपिटमा ! ककपिटमा!’ यसमाथि जर्राहले अरबीमा ‘उनीहरू ककपिटभित्र घुस्न चाहन्छन् । ढोकालाई भित्रबाट थिचेर राख ।’ भन्छन् । जर्राहले विमानको पखेटा हल्लाइरहे । त्यतिबेलासम्म विमान पाँच हजार फिट तल आइसकेको थियो । नौ बजेर ५९ मिनेटमा जर्राहले आफ्नो रणनीति बदले । उनले विमानको नाक माथि र तल सार्न थाले । करिब १० बजेतिर यात्रुहरूको हमला तीव्र भएपछि ककपिटभित्र रहेका अपहरणकारीले विमानलाई दुर्घटना गराउने कुरा गरे ।
‘अहिले नै काम तमाम गर्ने हो त ?’ जर्राहले भन्छन् ।
‘अहँ, अहिले होइन तिनीहरू सबै भित्र आएपछि मात्रै,’ घामदीको जवाफ थियो ।
फ्लाइट ९३ फेरि तल झर्यो । यतिबेला सम्म यात्रुहरू ककपिटमा घुस्न सकेका थिएनन् । विमानको नियन्त्रण अझै जर्राहको हातमा थियो । तर त्यतिन्जेल जर्राहले अवस्थाको गम्भीरता बुझिसकेका थिए । पहिलो पटक उनले घामदीलाई नामले नै सम्बोधन गरे। ‘माथि, तल सइद, माथि तल ।’ पाँच सेकेन्डपछि एक यात्रुले ‘रोल इट’ भन्दै कराए । यसको मतलब सायद खाना राख्ने ट्रलीले ककपिटको ढोकामा हिर्काउ भन्ने थियो । यसपछि प्लेट र गिलास खसेको फुटेको आवाज सुनियो ।
फ्लाइट ९३ को दुर्घटना
१० बजेर एक मिनेटमा विमान फेरि माथितिर जान थाल्यो । त्यति नै बेला जर्राहले भने, ’के समय आइसकेको हो , के यसलाई खसाइ दिने हो त ?’ घामदीले भन्छन्, ‘ठिक छ । त्यसै गरौं ।’
अचानक मानिसहरूले चिच्याएको सुनियो । विमानको उडान गर्न जारी राखियो भने यात्रुहरूले चाँडै आफूहरूलाई पराजित गर्नेछन् भन्ने कुरा अपहरणकारीलाई लाग्न थाल्यो । बाध्य भएर जर्राहलाई ‘सइद, अक्सिजन काटे ।’ भन्छन् । उता, यात्रुहरूले पनि ‘जाउ, जाउ…. सर, सर’ भनेर चिच्याइरहेको सुनियो ।
त्यति नै बेला यात्रुहरू ककपिटको ढोका फुटाउन सफल भए । जर्राहले अरबीमा चिच्याए, ‘तल झार । तल झार ।’ केही सेकेन्डपछि गमदीको आवाज सुनियो, ’मलाई देऊ, मलाई देऊ । त्यतिन्जेलसम्म यात्रुहरू ककपिटमा पुगेर जर्राहलाई कुट्न थालिसकेका थिए । घामदी सायद जहाजलाई नियन्त्रणमा लिन खोजिरहेका थिए । तर त्यतिन्जेलसम्म निकै ढिलो भइसकेको थियो ।
विमान पेन्सिलभेनियाको समरसेट काउन्टीको निकै तल आइसकेको थियो । ५६३ माइल प्रतिघण्टाको गतिमा उडेको बोइङ ७५७ विमान ४० डिग्रीको कोणमा खस्यो । बिजुलीका तारहरू चुँडाउँदै विमान जमिनमा ठोक्कियो । विमानमा झन्डै पाँच हजार ग्यालन जेट इन्धन थियो । जमिनमा ठोक्किने बित्तिकै विमान टुक्रा टुक्रा भयो र ह्र्वाह्र्वाती आगो बल्न थाल्यो । त्यसबेला घडीमा १० बजेर ३ मिनेट गएको थियो । अमेरिकी संसद् भवन ध्वस्त पार्न हिँडेको जहाज वाशिङ्टन डीसी त्यहाँबाट १५ मिनेटको हवाई दूरीमा थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।