• सबै नेपालीको हितका लागि संविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

  • जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै नागरिकको राज्यमा सम्मानजनक सहभागिता नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् ।

    सुनसरी सदरमुकाम इनरुवामा आइतबार अयोजना गरिएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनले नेपाल विश्वकै धेरै मुलुकमध्येको सुन्दर मुलुक भएकाले यहाँको स्रोतलाई उपयोग गरेर दाता देश बन्नसक्ने जिकिर गरे ।

    आफू परराष्ट्रमन्त्री भएको बेला विदेश भ्रमण गर्दा अरुको भन्दा आफ्नै देशमा धेरै विकासका सम्भावना रहेको अनुभव गरेको अध्यक्ष यादवले जानकारी दिए । कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गरेर, जलस्रोतलाई विद्युत्मा परिणत गरेर र पर्यटनलाई विदेशीको माझ व्यापार बनाउन सक्ने गरी विकास गर्न सक्ने उनले उल्लेख गरे ।

    फरक प्रसङगमा अध्यक्ष यादवले नेपालको संविधान संसोधन गर्नुपर्ने आवश्यक रहेको बताए । संविधान निर्माण र जारीदेखि नै आफूहरुले त्यसमा संसोधनको आवश्यकता रहेको बताउँदै आएको चर्चा गर्दै उनले संसोधन नभएसम्म सबै नेपालीको हित नहुने बताए ।

    संविधान संशोधन गरेर तराई मधेस, पहाड र हिमालसम्मका उत्पीडनमा परेका समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने उनले बताए । संविधानमा गर्ने संसोधन कुनै समुदायको अधिकार खोस्नका लागि नभई सबैको सम्मान पहुँच स्थापित र अपनत्व महसुस गराउनका लागि हुने उनको भनाइ थियो ।

    कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश सयौँ नेता तथा कार्यकर्ताहरुलाई पार्टीका अध्यक्ष यादवले फूल, माला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय