इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को उपाधि चेन्नई सुपर किंग्सले उचालेको छ । शुक्रबार दुबई इन्टरनेशनल स्टेडियममा भएको खेलमा चेन्नईले कोलकता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चौथो पटक च्याम्पियन बनेको हो ।
जितको लागि १ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । कोलकता ओपनर सुभमन गिलले ४३बलमा५१ रन बनाए भने अर्का ओपनर वेंकटेश ऐर ५० रनमा आउट भए ।
चेन्नईका शार्दूल ठाकुरले सर्वाधिक ३ विकेट लिए । रविन्द्र जडेजा र जोश हेजलवुडले २-२ विकेट लिए । डवेन ब्राभो र दीपक चाहरले १-१ विकेट लिए ।
त्यसअघि चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । चेन्नईका ओपनर फाफ डु प्लेसिसले ५९ बलमा सर्वाधिक ८६ रनको योगदान दिए । मोईन अली २० बलमा ३७ रनमा अविजित रहे ।
यसअघि चेन्नईले २०१० मा मुम्बई इन्डियन्सलाई पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको थियो । यसपछि २०११ र २०१८ मा चेन्नईले उपाधि जितेको थियो । चेन्नई २००८, २०१२, २०१३, २०१५ र २०१९ मा उपविजेता बनेको थियो ।
च्याम्पियन चेन्नईले २० करोड र उपविजेता कोलकताले १२ करोड ५० लाख भारतीय रुपैयाँ पुरस्कार पाउने छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।