• औद्योगिक विकासमा पूर्वाग्रह नराखौं : पौडेल

  • बुटवल। नेकपा(एमाले) का नेता विष्णुप्रसाद पौडेलले आर्थिक तथा औद्योगिक विकासमा पूर्वाग्रह नराख्न आग्रह गरेका छन्।

    रुपन्देही उद्योग संघको ४३औं वार्षिक साधारणसभा तथा २२औं अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै पौडेलले विकासमा पूर्वाग्रह राख्दा नकारात्मक सन्देश जाने भएकाले त्यस्ता खालका गतिविधि नगर्न अनुरोध गरे।

    पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले निजी क्षेत्रलाई राष्ट्र निर्माणमा सहभागी गराउने र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नका लागि राज्यले निर्वाह गर्नुपर्ने भूमिकामा कमी आउन नहुने धारणा राखे।

    पौडेलले आफू अर्थमन्त्री रहँदा ल्याएको बजेटमा निजी क्षेत्रका माग र आवश्यकतालाई समावेश गरेको जनाउँदै त्यसलाई वर्तमान गठबन्धन सरकारले तोडमोड गर्ने प्रयास गरेको भन्दै सच्याउन सुझाव दिए।

    उनले बजेटमार्फत उद्योगका क्षेत्रमा समावेश गरिएका सकारात्मक योजनामा सरकारको मौनताले औद्योगिक क्षेत्रको विकासमा बाधा उत्पन्न हुने बताए।

    ‘उद्योगको विकासबिना देशको आर्थिक विकास सम्भव छैन, सोही मान्यताका साथ बजेटमा निजी क्षेत्रको भावनालाई समेटेर बजेट आएको थियो, तर अहिले केही कटौती गर्ने काम भएको छ, त्यो गलत हो, विकासमा कोही बाधक बन्न हुँदैन’, पौडेलले भने।

    पौडेलले यस क्षेत्रमा अगाडि बढाइएका विकासका योजना तथा कार्यक्रम जुन उद्देश्यले अगाडि बढाइएको र त्यसमा कसैले हेल्चक्रयाइँ नगर्न चेतावनी दिए।

    उनले भने, ‘पुराना योजना र कार्यक्रममा कैची चलाउने कोसिस भएको सुनेको छु, त्यो काम नहोस्, नीति–नियम बनाएर काम अगाडि बढाउनेतर्फ लागियोस् ।’

    सम्बोधनका क्रममा निर्माणको अन्तिमचरण पुगेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम अगाडि बढाउने विषयमा सरकारले आनाकानी गरेको प्रति सचेत गराउँदै यस क्षेत्रको आर्थिक विकासका लागि उक्त काम रोकिन नहुने धारणा राखे।

    उनले मोतिपुर औद्योगिक क्षेत्रको काम जुन लक्ष्य र उद्देश्यबाट अगाडि बढाइएको हो त्यसअनुसार नभए त्यसमा उद्योगीले नै पहलकदमी लिनुपर्ने बताए।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वउद्योगमन्त्री तथा प्रदेश सदस्य लीला गिरीले उद्योगको संरक्षण र विकासका लागि आफ्नो पालामा धेरै राहत तथा सहुलियत प्याकेजका कार्यक्रम अगाडि सारेको उल्लेख गर्दै त्यसअनुसार काम हुन सकेमा औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय