स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले अहिलेको पाँच दलको गठबन्धनलाई निर्वाचनसम्म कायम राखिने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) कास्कीले विजयादशमी, दीपावलीलगायत चाडपर्वका अवसरमा आज पोखराको सभागृहमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संविधानको रक्षा गर्ने शर्तमा अहिलेको सत्तापक्षको गठबन्धन आगामी निर्वाचनसम्म रहने बताएका हुन् ।
एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका नेता खतिवडाले नेकपा (एमाले) र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरे ।
वर्तमान सरकारलाई परमादेशको सरकार भन्नुको कुनै अर्थ नरहेको भन्दै उनले निर्वतमान प्रधानमन्त्री केपी ओली जसरी सांसदको हस्ताक्षरबाट प्रधानमन्त्री नियुक्त भएका अहिलेका प्रधानमन्त्री पनि सोहीअनुसार नियुक्त भएको प्रष्ट पारे । मन्त्री खतिवडाले भने, “अहिलेको सरकार परमादेशको सरकार होइन, संविधानबमोजिम राष्ट्रपतिकामा बहुमत सांसद गएका हौँ । केपी ओली बन्दा जसरी सांसदको दस्तखत गरेर सरकार बनेको हो, अहिले पनि त्यही सांसदका दस्तखतबाट सरकार निर्माण भएको छ ।”
स्वास्थ्यमन्त्री खतिवडाले गण्डकी प्रदेशमा सङ्घीय सरकार मातहतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मात्र रहेकाले सो अस्पतालको सेवा थप प्रभावकारी बनाउनका लागि सबैसँग छलफल गरेर सुझावका आधारमा आफूले काम गर्ने बताए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।