• साफ फुटबलः श्रीलंकालाई हराउँदै नेपाल शीर्ष स्थानमा

  • काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

    गएराति सम्पन्न खेलमा श्रीलंकालाई ३÷२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

    नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे ।

    श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए ।

    खेलको ३३औं मिनेटमा सुमनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यु गोल हो ।

    खेलको ५१औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २ शुन्यको अग्रता दिलाए ।

    ह्यामिल्टनले ५७औं मिनेटमा २५ यार्ड टाढाबाट गोल गर्दै श्रीलंकालाई २÷१ को स्थितिमा ल्याए ।

    खेलको ८६औं मिनेटमापरिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका युसले गोल गर्दै नेपाललाई ३÷१ को अग्रता दिलाए । उनको यो नेपालका लागि पहिलो गोल हो ।

    त्यसपछि खेलको इन्जुरी समयमा श्रीलंकाका डी सिल्भाले पेनाल्टीमा एक गोल गरेपनि नेपालले ३÷२ गोल अन्तरको महत्वपूर्ण जित निकाल्न सफल भयो ।

    यो जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले २ खेलमा ६ अंक जोडेको छ ।

    लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ।

    नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १ शुन्यले हराएको थियो ।

    श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १ शुन्यले पराजित भएको थियो ।

    लगातार दुई हार व्यहोरेको श्रीलंकाको फाइनल यात्रा कमजोर बनेको छ ।

    अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।

    त्यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।

    यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागि भएका हुन ।

    लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय