काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठक बोलाएका छन् ।
संघीय संसदमा एमालेले जारी राखेको अवरोध अन्त्यको प्रयासस्वरूप प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजे सर्वदलीय बैठक बोलाएका हुन् ।
संसदमा प्रतिनिधित्व गर्ने एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपाका नेतालाइ बैठकमा बोलाइएको छ।
बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
२३ भदौमा सुरू भएको संसदको चालु अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले निरन्तर अवरोध गर्दै आएको छ ।
एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी बनेको भन्दै अवरोध गरिरहेको छ। एमालेकै अवरोधकै बीच बजेट पास भएको थियो ।
यसअघि सभामुखले पनि सर्वदलीय बैठक बोलाएर अवरोध हटाउने कोशिस गरेका थिए। तर सो बैठकमा एमाले सहभागी भएन।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।