• नयाँ निर्वाचनमा गएर मुलुकलाई निकास दिनुपर्छ : अध्यक्ष ओली

  • काठमाडाैं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् नियमितरूपमा सञ्चालन हुन नसकेको भन्दै नयाँ निर्वाचनमा जानुपर्ने बताएका छन् । उनले मुलुकलाई ताजा जनादेशमा लानु नै उपयुक्त भएको बताए।

    एमालेको आसन्न विधान महाधिवेशनका सन्दर्भमा आज विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं वरिष्ठ पत्रकारसँगको छलफल कार्यक्रममा अध्यक्ष ओलीले यही सरकारले प्रतिनिधिसभाको कार्यकाल अगावै निर्वाचन गराए आफूहरु प्रतिपक्षमै रहेर सहभागी हुने बताए ।

    पत्रकारको एक प्रश्नमा पूर्वप्रधानमन्त्री ओलीले भने, ‘संसद् र जनताको स्थिरता र समृद्धिको चाहनाका लागि दिइएको बहुमूल्य समय बर्बाद गर्नुहुँदैन । यस्तो अवस्थामा ‘अर्ली इलेक्सन’मा जान उपयुक्त हुन्छ ।’

    लोकतान्त्रिक प्रणालीमा जाँदा जनादेशमा जाने कुरालाई प्रतिगमन नभई अग्रगमन भन्नुपर्ने तर्क गर्दै उनले विगतमा प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णयलाई सर्वाेच्च अदालतबाट पुनःस्थापना गराइएकामा आफूहरुले आलोचनासहित फैसलालाई मानेको दाबी गरे ।

    अध्यक्ष ओलीले संविधानमा भएको व्यवस्था विपरीत नयाँ दल खोल्न पाउने अध्यादेश ल्याइएकामा विरोध गर्दै सो अध्यादेशलाई फिर्ता गर्दा पनि संसदीय प्रक्रियाको पालना नगरिएको टिप्पणी गरे।

    अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौता कांग्रेस, माओवादी केन्द्रको गठनबन्धन सरकार भएका बेला भएकाले त्यसलाई कसरी अघि बढाउने भन्नेबारेमा सत्तापक्ष स्पष्ट हुनुपर्न बताए ।

    उनले त्यसबारे आफूहरुसँग सरकारले कुनै परामर्श नगरेकाले अहिले पार्टीले धारणा बनाइहाल्नु नपर्ने बताए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय