• खोटाङमा आठ जनामा डेङ्गु संक्रमण

  • खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

    एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि जिल्ला अस्पताल आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच, सोही नगरपालिका–६ नेर्पाका एक, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एक र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।

    सङ्क्रमितमध्ये शरीरमा रगत कम भएका एकजना बिरामीलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा वैभव मल्लिकले बताए । उनका अनुसार सङ्क्रमितमध्ये दुई जना जिल्ला अस्पतालमा र बाँकी पाँच जना आफ्नै घरमा चिकित्सकको सहयोगमा उपचार गराइरहेका छन् ।

    “डेङ्गु रोगको अहिलेसम्म खास उपचार छैन । यसको लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ”, उनले भने, “लामखुट्टेको टोकाइबाट बच्ने, घर वरपर पानी जम्न नदिने, पूरा शरीर ढाक्ने लुगा लगाउने, सुत्दा अनिवार्य झुल प्रयोग गर्ने उपाय अपनाएर डेङ्गुबाट बच्न सकिने भएकाले यसप्रति सबै सचेत हुन आवश्यक छ ।”

    डेङ्गु रोगबारे उच्च सतर्कता अपनाउन र रोगको नियन्त्रणका लागि आवश्यक सम्पूर्ण उपाय अबलम्बन गर्न डा मल्लिकले सम्बन्धित पक्षलाई आग्रह गरे । एक्कासी लगातार ५–७ दिनसम्म उच्च ज्वरो आउनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, ढाड दुख्ने, कसैलाई रक्त श्राव हुने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, पाँच/छ दिनपछि शरीरमा बिमिरा आउने लगायतका शारीरिक समस्या देखिनु डेङ्गुको लक्षण भएको डा. मल्लिकले बताए ।

    डेङ्गुको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु भए पनि कतिपय अवस्थामा वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुनेलगायतका लक्षण पनि देखिन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय