स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताएका छन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्न थालिएको जानकारी दिए । उनले महिलामा स्वास्थ्य समस्या धेरै देखिने भएकाले प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवा पनि विस्तार गर्नुपर्ने बताए ।
राज्यमन्त्री श्रेष्ठले यस अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचार तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने धारणासमेत राखे । उनले अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि मन्त्रालय लागिपरेको बताए ।
“यहाँ भएका साधनस्रोतलाई उपयोग गर्ने हो भने सम्भावना धेरै छन्”, उनले भने, “अस्पतालले मन्त्रालयसँग के अभाव छ । त्यसको माग गर्न पर्यो । हामी उपलब्ध गराउन तयार छौ ।”
उनले दूरदराजका जनताले अझै स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै ती क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउनुपर्ने भनाइ राखे । उनले कोरोना भाइरसविरुद्धको खोप सरकारको प्राथमिकता रहेको भन्दै ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याउन पहल भइरहेको जानकारी दिए । अहिले २० प्रतिशत पहिलो मात्रा र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले प्रसूति अस्पताललाई व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताए । उनले अस्पतालमा ७०० शय्या थप गर्न मन्त्रालयले सहयोग गर्ने बताए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।