बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् ।
संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले शाक्यलाई बहुमतका आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उक्त धारामा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुने’ उल्लेख छ ।
उनले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । उनले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन् । मुख्यमन्त्री नियुक्त भएसँगै शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् ।
माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गरेकै दिन शाक्य मुख्यमन्त्री नियुक्त भएकी हुन् । नयाँ पार्टी गठनमा नेता नेपाललाई साथ नदिएकी उनलाई एमालेको बागमती प्रदेश संसदीय दलले बुधबार नै दलको नेता चयन गरेको थियो । उनलाई दलको नेतामा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्ताव गरेका थिए ।
को हुन् नवनियुक्त मुख्यमन्त्री शाक्य ?
नवनियुक्त मुख्यमन्त्री शाक्यको जन्म विसं २०११ को दशैँको अष्टमीका दिन काठमाडौंमा भएको थियो । आमा बुबाका आठ सन्तानमध्ये शाक्य दोस्रो सन्तान हुन्
पञ्चायती व्यवस्था विरूद्ध लडेकी उनले लामो समयसम्म भूमिगत रहेर काम गरेकी थिइन् । उनले यसअघि उद्योग र महिला बालबालिका तथा समाजकल्याणको जिम्मेवारी समालिसकेकी छन् ।
उनी अनवरत रुपमा नेपालको कम्युनिष्ट आन्दोलनमा सक्रिय महिला नेतृ हुन् । उनले नेकपा एमालेको विभिन्न पदमा कार्य गरिसकेकि छिन् ।
शाक्यको विवाह सोही पार्टीका नेता तथा पूर्वमन्त्री अमृत बोहरासँग भएको थियो । पार्टीमा नेतृ शाक्यलाई शालिन व्यक्तित्वका रुपमा लिने गरिएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।