अफगानिस्तानमाथि तालिबानको कब्जा भएसँगै यतिबेला देश छाड्नेहरुका कारुणिक दृश्यहरु बाहिर आइरहेका छन् ।
आम मानिसहरु गाडीमा जस्तै विमानमा पनि झुण्डिएर भए पनि जतिसक्दो छिटो देश छाड्न चाहन्छन् । आफू जन्मेको देश छाड्नेहरुको यो लर्कोले धेरै कुराको सन्देश दिन्छ । तालिबानले काबुलमा कब्जा जमाएपछि देशका जनताको जीवन सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ । तर अफगानी जनताको ठूलो हिस्साले यसलाई विश्वास गर्न सकेको छैन । त्यसको कारण भनेको विगतमा उसले गरेका अत्याचार आतंकवादी गतिविधि नै हुन् ।
काबुल विमानस्थलमा देश छाड्नेको भीड, भाग्दा अमेरिकी सेनाको गोली खाएर मर्ने अवस्था र विमान चढ्न कोशिस गर्नेहरुको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । त्यहाँको अवस्था के छ ? जनतामा कति त्रास छ र उनीहरुको मनमा के बितिरहेको छ भन्ने कुरा यही अवस्थाले बताउँछ ।
महिला र बच्चाहरुको चिन्ता
तालिबान शासन सुरु भएपछि त्यहाँ महिला र बालबालिकाको अवस्थालाई लिएर अहिलेदेखि नै चिन्ता सुरु भएको छ । महिला अधिकारका लागि काम गर्ने र अफगानिस्तान निर्वाचन आयोगकी पूर्व सदस्य जारमिना काकरले भनिन्, ‘यतिबेला धेरैले मलाई तपाईको अवस्था कस्तो छ भनेर सोधिरहेका छन् । म आँखाभरी आँसु पार्दै ठीक छ भनिरहेकी छु । तर वास्तममा केही ठीक छैन । हामी यस्तो दुःखी पन्छी भएका छौं, जसका आँखामा धुँवा परेको छ र हाम्रो घरबास उजाडिएको छ । हामी केही गर्न सक्दैनौं । मात्रै हेर्न सक्छौ र चिच्याउन सक्छौं ।’
उनका अनुसार धेरै महिना र किशोरीहरु डराएका छन् । खासगरी पछिल्लो २० वर्षमा अफगानिस्तानमा हुर्किएका किशोरकिशोरी र युवाहरुमा त्रासको माहौल सिर्जना भएको छ । तालिबानको डरले उनीहरु भागिरहेका छन्। अफगानी महिलाहरुले तालिबानको शासनका क्रममा उनीहरुमाथि हुने ज्यादतीलाई भुलेका छैनन् ।
विश्वास दिलाउने तालिबानको कोशिस
तालिबानले भने उनीहरु डराउनु नपर्ने भन्दै ढाडस दिन खोजेको छ । तालिबानका प्रवक्ता सुहैल शाहिनले हालै बीबीसीलाई लिएको अन्तर्वार्तामा उनीहरु डराउनु नपर्ने बताएका थिए । उनले भनेका छन्, ‘हामी उनीहरुको इज्जत, सम्पत्ति, काम र पढ्न पाउने अधिकारको रक्षाको लागि समर्पित छौं । त्यसैले चिन्ता गर्नुपर्ने कारण छैन । उनीहरुलाई काम गर्नेदेखि देखि पढ्ने कुरामा अघिल्लो सरकारको भन्दा राम्रो अवसर प्राप्त हुनेछ ।’
तालिबान आफ्नो तर्फबाट आश्वासन दिइरहेको छ र अफगानी महिलाले आफूहरुको सहयोगका लागि अन्तर्राष्ट्रिय समुदाय अघि आउनु भन्ने चाहिरहेका छन् ।
सांसद मरियम समा काबुलबाट भागेकी छन् । तर उनको परिवारका अरु महिला अफगानिस्तानमा नै छन् । त्यसैले उनी चिन्तामा छिन्। उनी भन्छिन्, ‘महिला र युवतीहरु धेरै डराएका छन् । उनीहरु जागिर गर्न सक्नेछैनन् र पढ्न सक्ने छैनन् । त्यसैले उनीहरुको कुनै अस्तित्व रहनेछैन । हामीले आफ्नो देश गुमाउनेछौं । यो निकै दुःखद र खतरनाक कुरा हो।’
अनिश्चितताको अवस्था
अफगानिस्तानमा रहेकी पत्रकार फातिमा हौसेनी पनि यो अनिश्चितताको वातावरणले डराएकी छन् । फातिमाले सीएनएनका पत्रकार इका फेरैर गटिकसँग भनेकी छन्, ‘संसारले हाम्रो लागि ढोका बन्द गर्नेछैन ।’
उनले भनिन, ‘यो धेरै खराब अवस्था हो । महिलाको जीवन अनिश्चितताले भरिएको छ र अब के हुन्छ भन्ने हामीलाई पनि थाहा छैन । एक पत्रकार हुनुको नाताले कृपा गरेर अफगानिस्तानलाई नभुल्न आग्रह गर्छु । हाम्रो जुन इतिहास छ, जो हामीले गरेका छौ, बहादुर महिला र उनीहरुको आवाजलाई नभुल्नुहोस् ।’
निराशा
केही मानिसहरुले ६०–७० को दशकका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । जसमा त्यसबेलाका महिला र तालिबान शासनका क्रममा महिलोको अवस्थाबारे तुलना गरिएको छ । स्वतन्त्र फिल्ममेकर सहारा करिमीले फिल्मलाई माया गर्ने व्यक्ति र समुदायलाई चिठी लेखेर सहयोग मागेकी छन् ।
उनले लेखेका छन्, ‘संसारले पिठ्यु नफर्काओस् अफगानिस्तानका महिला, बालबालिका, कलाकार र फिल्मकर्मीलाई तपाईंहरुको सहयोगको आवश्यकता छ।’ एजेन्सीको सहयोगमा
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।