• लुम्बिनीमा मन्त्री बनेका शाहीले भने– मलाई एमालेको ह्वीप लाग्दैन

  • बुटवल। लुम्बिनी प्रदेशका बिना विभागीयमन्त्री अजय शाहीले स्वतन्त्र सांसद भएकाले आफूलाई नेकपा एमालेको ह्वीप नलाग्ने बताएका छन्।

    स्वतन्त्र राजनीतिक समूहका शाहीले सूर्य चिन्हबाट चुनाव जितेको भन्दै एमालेले स्पष्टीकरण सोधेको चौथो दिनमा प्रेस विज्ञप्ति जारी गर्दै शाहीले आफू स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित भएको र एमालेको पार्टी सदस्यतासमेत नलिएकोले ह्वीप नलाग्ने बताएका हुन्।

    एमालेले साउन २८ गते पत्र काटेर तीन दिनभित्र आफैं उपस्थित भई स्पष्टीकरण बुझाउन शाहीलाई निर्देशन गरेको थियो। एमालेले सोधेको स्पष्टीकरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै शाहीले राजनीतिक दल सम्बन्धी ऐनअनुसार स्वतन्त्र सांसदलाई कुनै पार्टीको ह्वीप नलाग्ने उल्लेख गरेका छन्।

    २०७४ को आम निर्वाचनमा एमाले र हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहबीच भएको दुई बुँदे सहमतिमा ‘स्वतन्त्र पहिचानका साथ क्रियाशील हुने’ उल्लेख गरिएको छ।

    आफ्नो दलको सदस्य नै नभएको व्यक्तिलाई स्पष्टीकरण सोध्नु औचित्यहीन र अलोकतान्त्रिक काम भएको भन्दै शाहीले कार्य क्षेत्र नाघेर एमाले अघि बढेमा कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।

    शाही साउन २७ गते प्रदेशसभाको विशेष अधिवेशनमा पनि सहभागी थिए। एमालेको संसदीय दलको वैठकले विशेष अधिवेशन बहिष्कार गर्ने निर्णय गरेको थियो। शाही नवलपरासी पश्चिम १ (ख) बाट सूर्य चिह्नबाट निर्वाचित भएका हुन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय