

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले दुईजना नेता सुरेन्द्र पाण्डे र भीम आचार्य भारतको राजधानी नयाँ दिल्ली गएका छन्। दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाललाई भेट्ने योजनासहित दुवै नेता शनिबार बिहान गएका हुन्।
पूर्व प्रधानमन्त्री खनालको एपोलो अस्पतालमै गत साउन २० मा मिर्गौला प्रत्यारोपण गरिएको थियो। पाण्डे र आचार्य नेपाल वायुसेवा निगमको नियमित उडानबाट शनिवार बिहान साढे ११ बजे दिल्लीतर्फ गएका स्रोतले जनाएको छ।
दुवै नेताहरु खनालनिकट मानिन्छन्। एमालेमा असन्तुष्ट नेता माधवकुमार नेपालले अब पार्टी विभाजन र एकताको दोबाटोमा पुगेको बताइरहेका बेला उनीहरुको दिल्ली भ्रमणलाई अर्थपूर्ण मानिएको छ।
पछिल्लो समय यी दुवै नेता एमाले एकताको पक्षमा उभिएका छन्। मिर्गौलामा समस्या भएपछि खनाल असार २ मा दिल्ली गएका थिए।
खनाल दिल्ली जानुअघि नेता आचार्यले नै ड्राफ्ट गरेको विज्ञप्ति निकालेका थिए। जसमा आफू एमाले एकताको पक्षमा रहेको सन्देश खनालले दिएका थिए।
तर साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा भने खनालले एमाले सांसदहरुलाई पक्षमा मतदान गर्न आह्वान गरेका थिए।
एमालेमा न मिल्न सक्ने सम्भावना न फुट्ने सम्भावनाको दोधारमा फसेका बेला दुवै नेताले खनाललाई भेटेर परामर्श गर्न लागेका हुन्।
तर दुवै नेताको यो भेटलाई मिर्गौलाका बिरामी खनालको स्वास्थ्यबारे बुझ्नेका रुपमा अर्थ्याइएको छ। माधव नेपाल समूहका यी दुवै जना नेता असार २७ गते कार्यदलले गरेको १० बुँदे सहमति अनुसार एमालेलाई एक बनाउने पक्षमा उभिएका छन्।
प्रदेश १ को मुख्यमन्त्री बन्न नपाएर कुनै बेला असन्तुष्ट नेता आचार्यले पनि पछिल्लो समय एमालेलाई एक बनाउनैपर्ने मत राखिरहेका छन्। अर्का नेता पाण्डेले त एमाले मिलाउनका लागि ओली(नेपाललाई दबाब दिँदै आएका छन्।
नेपाल पक्ष पार्टी फुटाएर अघि बढ्ने योजनामा लागिरहेका बेला पाण्डे र आचार्यले दिल्लीमा यसबारे खनालसँग छलफल गर्ने योजना बनाएको बताइएको छ।
खनालसँग छलफल गरेपछि एमालेमै रहने या अलग हुनेबारे उनीहरुले निर्णय लिने सम्भावना छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
