बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनियताको शपथ लिएका छन्। बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसी र अन्य मन्त्रीहरुलाई शपथ गराएका हुन्।
बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका थिए।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसी मुख्यमन्त्री नियुक्त भएका हुन्।
उनले बिहीबार नै ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन्। जसमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी तथा स्वतन्त्र राजनीतिक समूहबाट अजय शाही मन्त्री बनेका छन्।
चौधरी शहरी तथा ग्रामीण विकास, कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन्। अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।