बुटवल। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदहरु समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।
कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी तथा हृदयश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहका अजय शाही मन्त्री बनेका छन्।
चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन्। अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन। मुख्यमन्त्री र मन्त्रीहरुले बिहीबार नै शपथ लिँदैछन् ।
लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका ६ सांसदमध्ये शंकर पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएको भन्दै पार्टीले निष्कासन गरेपछि अब ३ जना मात्र सांसद बाँकी छन्। सांसद रायमाझी पहिले पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएपनि राजीनामा दिएर बाहिरिएकी थिइन्।
स्वतन्त्र राजनीतिक समूहका २ सांसद सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा विजयी भएका हुन्। धर्मबहादुर लाल श्रीवास्तव शंकर पोखरेलको सरकारमै सहभागी भएका थिए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।