• एमालेमा प्यानल बनाउन नपाइने, शक्तिशाली अध्यक्ष

  • काठमाडाैं। नेकपा (एमाले)को महाविधेशनमा अब प्यानल बनाएर उम्मेदवारी दिन नपाइने भएको छ।

    केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्तावलाई पारित गर्दै अबदेखि हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दा निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने व्यवस्था गरेको छ।

    यसअघि पार्टीको आठौं र नवौं महाविधेशनमा प्यानलगत रुपमा उम्मेदवारी दर्ता गराएर निर्वाचन भएको थियो। नयाँ प्रस्तावले महाधिवेशन र त्यसपछि हुने गुटगत
    क्रियाकलाप अन्त्य हुने विश्वास एमालेको छ।

    पारित गरिएको विधानमा अध्यक्ष र सदस्य महाविधेशन वा अधिवेशनबाट निर्वाचित हुने व्यवस्था राखिएको छ। संशोधित नयाँ विधानअनुसार अन्य पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्नेछ।

    अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, उपमहासचिव दुई र सचिव सात जनाको व्यवस्था गरिएको छ।

    नवौँ महाविधेशनमा अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव दुई र सचिव पाँच जना रहेका थिए। पदाधिकारी समावेशिताको व्यवस्था तोके बमोजिम हुने कुरा नयाँ संशोधित विधानमा उल्लेख छ।

    यस्तै पार्टीले सबै तहका पार्टी कमिटी, आयोग वा परिषद्मा न्यूनतम ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चि गर्ने व्यवस्था विधानमा उल्लेख गरिएको छ। हालको केन्द्रीय कमिटीबाट केन्द्रीय कमिटीको सदस्य सङ्ख्या बढाएर २२५ कायम गर्ने भनिएको छ।

    केन्द्रीय कमिटीमा वैकल्पिक सदस्यको व्यवस्था हटाउने र केन्द्रीय कमिटीले मनोनित गर्न सक्ने केन्द्रीय कमिटीको सदस्य सङ्ख्या बढीमा १० प्रतिशत कायम गर्ने संशोधित विधानमा उल्लेख छ।

    पोलिटब्यूरोको व्यवस्था हटाउने र केन्द्रीय कमिटीअन्तर्गत ३५ सदस्यीय स्थायी कमिटी गठन गर्ने नयाँ विधानमा रहेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

    राजनीतिक तथा सङ्गठनात्मक कामको नेतृत्व गर्न अध्यक्षको नेतृत्वमा सात सदस्यीय सचिवालय र प्रशासनिक तथा व्यवस्थापकीय कामको नेतृत्व गर्न महासचिवको नेतृत्वमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गर्ने व्यवस्था गरिएको छ।

    प्रदेश र जिल्ला कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवको व्यवस्था गरिएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय