• अमेरिका र बेलायतद्वारा तत्काल अफगानिस्तान छाड्न आफ्ना नागरिकलाई आग्रह

  • एजेन्सी। सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै अमेरिका र बेलायतले तत्काल अफगानिस्तान छाड्न आफ्ना नागरिकलाई आग्रह गरेका छन्।

    काबुलस्थित अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई ऋण उपलब्ध गराउने समेत जनाएको छ।

    अफगानिस्तानमा आतंकवादीहरूले हमलाहरू गर्न सक्ने भन्दै ब्रिटेनको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई सचेत गराएको छ।

    उसले आफ्ना नागरिकहरूलाई व्यापारिक उडानहरूबाट फर्कन र दूतावासले गर्ने आपत्‌कालीन उद्धारमा भर नपर्न आग्रह गरेको छ।

    अफगानिस्तानबाट विदेशी फौजको अन्तिम समूह फिर्ता भएसँगै तालिबानले भूभागमाथि कब्जा गर्न एउटा ठूला हमला थालेपछि बेलायत र अमेरिकाले पछिल्ला चेतावनी जारी गरेका हुन्।

    दक्षिण-पश्चिमी अफगानिस्तानको सहर तालिबान लडाकुहरूको नियन्त्रणमा गएको पहिलो प्रान्तीय राजधानी बनेको छ। लडाकुहरूले निम्रोज प्रान्तको राजधानी जारञ्जमाथि नियन्त्रण कायम गरेका छन्।

    त्यसलाई सरकारी फौजका निम्ति ठूलो धक्काको रूपमा हेरिएको छ। विदेशी फौजको फिर्तीसँगै लडाकुहरूले देशभरि आक्रमण तीव्र पारेका छन्।

    ठूलो स्तरमा ग्रामीण इलाकामाथि नियन्त्रण गरेका तालिबान लडाकुहरूले अहिले महत्त्वपूर्ण सहरहरूलाई निशाना बनाइरहेका छन्। प्रान्तीय राजधानीहरू पश्चिममा हेरात र दक्षिण सहरहरू कान्दहार र लश्कर गहमा तालिबानले हमला जारी राखेको छ।

    वरपरका जिल्लाहरूलाई नियन्त्रणमा लिएपछि अन्य क्षेत्रमाथि उनीहरूले कब्जा गरिरहेका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय