• मन्त्रीको टुङ्गो लगाउन बालुवाटारमा सत्तापक्षीय गठबन्धनको बैठक

  • काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आज बिहान ९ बजेदेखि जारी बैठकमा मन्त्रिपरिषद् विस्तार तथा सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न हुने बताइएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू सहभागी छन् । बैठकमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायण काजी श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन् ।

    एमालेको माधव नेपालले भने बैठकमा डा. विजय पौडेललाई पठाएका छन् ।
    यसअघिको शीर्ष बैठकमा नेपाल आफैँ सहभागी थिए । तर, पार्टी एकताको पक्षमा क्रियाशील नेताहरूले वातावरण बिग्रने भन्दै नेपाललाई गठबन्धनका बैठकमा सहभागी नहुन आग्रह गरेका छन् ।

    नेपालसँग माओवादी अध्यक्ष प्रचण्डले मंगलबार पनि छलफल गरेका थिए । नेपालले एमाले एकताको प्रयास चलिरहने र आफ्नो पक्ष पनि सरकारमा सहभागी हुने बताएका थिए ।

    २९ असारमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाले सोही दिन कांग्रेस र माओवादी केन्द्रका तर्फबाट चार जना सदस्यलाई मन्त्री नियुक्त गरेका थिए । त्यसपछि स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन् । उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा आलोचना भइरहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय