काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले केपी ओलीको खेमा छोडेर माधव नेपालतिर लागेका किसान श्रेष्ठसँग आफू सति जान नसक्ने बताएका छन्।
केही मिडियाले किसान श्रेष्ठले ओली खेमा छाडेकाले अब महेश बस्नेतले पनि त्यो खेमा छाड्न लागेको भनेर समाचार सम्प्रेषण गरेकोप्रति संकेत गर्दै बस्नेतले सामाजिक सञ्जालमार्फत् यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।
३ साउनमा शेरबहादुर देउवाले संसदमा विश्वासका मत लिँदा ओली खेमाका सांसद श्रेष्ठसँगै ८ जनाले फ्लोर क्रस गरेर देउवालाई मत दिएका थिए। श्रेष्ठका घनिस्ट मित्र बस्नेतले भने श्रेष्ठले खेमा परिवर्तन गर्दैमा आफू त्यता नलाग्ने बताएका हुन्।
‘मित्र किसान श्रेष्ठसँगको मेरो सम्बन्ध राजनैतिक सम्बन्ध हो, पौराणिककालको श्रीमान श्रीमती जस्तो मृत्युमा सति जाने जस्तो सम्बन्ध होइन’, उनले ट्वीटरमा लेखेका छन्, ‘केही मिडिया किन रमाएका हुन् ?’
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।