• अर्जुनधाराधामको मुख्य मन्दिर साउनमा पनि नखुल्ने

  • झापा । कोभिड–१९ को महामारी नघटेको र सरकारले लगाएको निषेधाज्ञा जारी रहेको कारण जनाउँदै झापाको प्रसिद्ध अर्जुनधारा जलेश्वरधाम यसपालि साउने पर्वमा नखुल्ने भएको छ । साउन महिनाको सोमबार हिन्दू नारीले मनोकामना पूर्ण होस् भन्दै शिवालयमा जल चढाउने परम्परा रहेको छ ।

    झापामा निषेधाज्ञा जारी रहेको हुँदा मन्दिर खुला नहुने धाम व्यवस्थापन समितिले जनाएको छ । साउन महिनामा पहेँलो र हरियो रङका चुरा, मेहन्दीलगाएर शिवजीको पूजा आराधना गर्दा मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । पूर्वको पशुपतिनाथको नामले परिचत अर्जुनधारा जलेश्वरधाममा विगगका वर्षमा साउन महिनाको सोमबार जल चढाउने भक्तजनको घुइँचो लाग्ने गर्दथ्यो ।

    गत वर्ष पनि कोभिड–१९ को तीव्र लहरका कारण धाम खुलाइएको थिएन । मूलढोका नखुल्दा भक्तजनले मन्दिर बाहिरबाट नै फूल र प्रसाद अर्पण गरेर शिवको पूजा आराधना गरेका थिए । यसपालि पनि बिहान नित्य पूजाको समयबाहेक मन्दिर नखुल्ने समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । सोमबारे जल चढाउन र शिवको पूजा आराधना गर्न पूर्वी नेपालका विभिन्न स्थानदेखि भारतको सिलीगुढी, दार्जिलिङ, सिक्किमलगायतका ठाउँबाट हजारौँ भक्तजन अर्जुनधारा आउने गरेका थिए । यहाँ आउने भक्तजनको सुरक्षा र व्यवस्थापनका लागि सुरक्षाकर्मीको समेत व्यवस्था हुने गरेको थियो ।

    कोभिड–१९ को सङ्क्रमण बढेसँगै मठमन्दिर, सभा समारोहलगायतका सम्पूर्ण कार्यक्रम सरकारले स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले गत वैशाख २१ गतेदेखि नै पटकपटक निषेधाज्ञा जारी गर्दै आएको छ । निषेधाज्ञा अवधिमा अर्जुनधाराको मूल मन्दिर बिहान ५ बजेदेखि ७ः३० बजेसम्म नित्य पूजाका लागि मात्र खुल्ने गरेको जोशीले बताए । ‘सरकारी नियम पालना गर्छौं’, उनले भने, ‘तत्काल मन्दिर खोल्ने कुनै योजना छैन । यस्तो महामारीका समयमा टाढाका भक्तजन पक्कै आउनुहुन्न । नजिकबाट आउनेहरुले सुरक्षा मापदण्ड अपनाएर मन्दिरबाहिर रहेको शिवलिङ्गमा पूजा गर्न सक्नुहुन्छ ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय