• उपत्यकामा आजदेखि चल्न थाले सार्वजनिक यातायात

  • काठमाडाैं। दुई महिनापछि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा आजदेखि सञ्चालन हुन थालेको छ।

    वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोना भाइरसबाट बच्न निषेधाज्ञा जारी गरिएसँगै सार्वजनिक यातायात बन्द भएको थियो।

    काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबारको बैठकले आजदेखि जोर बिजोर प्रणालीमा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

    निर्णयबमोजिम आज उपत्यकामा बिजोर नम्बरका सवारी सञ्चालन भएसँगै चहलपहल केही बढेको छ । निषेधाज्ञा जारी भएसँगै उपत्यकाबाहिर गएका यातायात मजदूरका कारण सबै यातायात भने चल्न सकेका छैनन्।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने २५ भन्दा बढी सिट क्षमताका जोर बिजोर प्रणालीबाट सवारी चलाउँदा भीड बढेर कोरोना सङ्क्रमण बढ्ने खतरा रहेको भन्दै सबै यातायात खुला गरिनुपर्ने माग गरेको छ।

    दुई महिनादेखि यातायात सञ्चालन बन्द हुँदा सबै मजदूरलाई बिहान बेलुकाको छाक टार्नसमेत समस्या रहेको भन्दै महासंघले उपत्यका बाहिरका सवारी पनि खुलाउनुपर्ने माग गरेको हो।

    महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य सोमबारको निर्णयले विभेद गरेको भन्दै यसलाई सच्याउन माग गरिएको बताए।

    विसं २०६९ देखि नै सार्वजनिक यातायातको भाडा नबढाइएकाले भाडा समायोजन गर्नसमेत महासंघले माग गर्दै आएको छ। डिजेलको भाउ ९५ हुँदा तोकिएको भाडा भाउ बढेर १०९ पुग्दासमेत समायोजन हुन नसकेकाले यससम्बन्धी गृहकार्य थाल्न आग्रह गरिएको उनले बताए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय