एजेन्सी। बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको तस्बिर बाहिर आएपछि स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् ।
प्रधानमन्त्री बोरिस जोनसनले स्वास्थ्यमन्त्रीको राजीनामा पत्र पाएर आफू दुःखी भएको बताएका छन् । पूर्व अर्थमन्त्री शाजिद जावेदलाई नयाँ स्वास्थ्यमन्त्रीमा नियुक्त गरिएको छ ।
द सन पत्रिकाले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो ।
सो पत्रिकाले ती तस्बिहरू स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ ।
कयौं पत्रिकाहरूले ह्यानककले आफ्नी श्रीमती मार्थासँगको १५ वर्षे वैवाहिक सम्बन्ध टुंग्याएको समाचार प्रकाशित गरेका छन् ।
ट्विटरमा प्रेषित एक भिडिओमा ह्यानकले भनेका छन्, ‘म स्वास्थ्य तथा सामाजिक स्याहार मन्त्रीको पदबाट राजीनामा दिनका लागि प्रधानमन्त्रीलाई भेट्न गएको थिएँ। यो देशका सबैले गरेको धेरै त्यागलाई मैले बुझेको छु…र हामी जसले नियम बनाउँछौँ त्यसमा प्रतिबद्ध हुनुपर्छ र त्यसकै कारण मैले राजीनामा दिएको हुँ।’
स्वास्थ्यमन्त्रीका रूपमा तीनवर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा नियम तोडेकोमा बारम्बार माफी मागेका छन्। उनले आफ्नो परिवार र प्रियजनसँग समेत माफी मागेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।