बीबीसी। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले अर्को कम्पनीलाई पनि अन्तरिक्षमा व्यावसायिक उडानका लागि अनुमति दिएको छ ।
एफएएले सर रिचर्ड ब्रानसनको कम्पनी भर्जिन गलाक्टिकको रकेट विमानलाई पैसा लिएर अन्तरिक्षसम्म यात्रु उडाउन अनुमति दिएको हो ।
यसअघि अन्तरिक्षसम्म विमानको परीक्षण उडान गर्न दिइएको थियो । बेलायतका व्यवसायी सर रिचर्ड ब्रानसनको कम्पनीबाट पृथ्वीबाट ९० किलोमिटर टाढा यात्रा गरेर अन्तरिक्षको छेउमा पुग्न ६०० यात्रुले पैसा बुझाइसकेका छन्।
यसरी पैसा तिर्नेहरु धनाढ्यहरू र चलचित्र एवम् संगीत क्षेत्रका चर्चित व्यक्तित्वहरु छन् । भर्जिन गलाक्टिकले अमेरिकाको न्यूमेक्सिको मरुभूमिमा रहेको स्पेसपोर्टबाट उडान भर्नेछ।
मे २२ मा युनिटी नामक रकेट विमानको सफल परीक्षण गरेपछि एफएएले सो अनुमति दिएको हो। सो परीक्षण उडानको तथ्यांकले आवश्यक सबै प्राविधिक विकासहरू गरिएको देखाएको बताइएको छ ।
भर्जिन गलाक्टिकका प्रमुख कार्यकारी अधिकृत माइकल कोल्ग्याजिरले भने, ‘हाम्रो लक्ष्य पूरा गरेको परीक्षण उडानको नतिजा देखेर हामी ज्यादै खुसी छौं ।’
उनले भने, ‘उडान त्रुटिरहित रह्यो र यसको नतिजाले हाम्रो उडान प्रणाली सुरक्षित र सहज रहेको देखायो । एफएएको व्यावसायिक उडानको अनुमति र हाम्रो मे २२ को सफलताले हामीलाई अबको गृष्म याममा पहिलो पूरै यात्रुवाहक उडान गर्ने आत्मविश्वास दिएको छ ।’
अबको भर्जिन गलाक्टिकको उडानमा कम्पनीका चार कर्मचारी र दुई चालक हुने बताइएको छ । त्यसपछिको उडानमा भने सर रिचर्ड अन्तरिक्षमा लगेर व्यावसायिक उडानका लागि कम्पनी तयार रहेको उदाहरण दिइने बताइएको छ।
त्यसपछिका उडानहरूबाट कम्पनीले नाफा कमाउने उद्देश्य राखेको छ । भर्जिन गलाक्टिकको केही उडानहरू इटलीको सेनाले बुकिङ गरेको छ ।
जुलाई ४ मा सर रिचर्ड अन्तरिक्ष उडानमा जाने चर्चा छ । सो मिति अमेजनका मालिक जेफ बेजोस आफ्नो कम्पनीबाट अन्तरिक्षमा जान तय गरिएको जुलाई २० भन्दा अगाडि हो । उद्यपि कम्पनीका प्रवक्ताले भने अहिलेसम्म उडानहरु निश्चित नभएको जनाएका छन् ।
सर रिचर्डले सन् २००४ मा पहिलो पटक अन्तरिक्षमा यात्रुवाहक उडानका लागि काम गर्ने घोषणा गर्दै सन् २००७ मा त्यस्तो उडान सुरु गर्ने बताएका थिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।