काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौं अधिवेशन यही असार १७ गतेका लागि आह्वान गरेका छन्।
उनले नेपालको संविधानको धारा ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपतिले समयसमयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। गत पुसमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन एकै पटक आह्वान हुँदैआएको थियो।
संघीय संसद्अन्तर्गत समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाको सातौं अधिवेशन गत पुस १७ गते प्रारम्भ भई २६ गते अन्त्य भएको थियो।
सो अधिवेशनमा चार बैठक बसेकामा सात अध्यादेश पेस गरिएको थियो। एउटा अधिवेशनको समाप्ति र अर्काे अधिवेशन प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।