• जसपाको ठाकुर समूहले बोलायो बैठक, के होला निर्णय ?

  • काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले पार्टीका निवर्तमान सांसदहरूको बैठक बस्‍दैछ । बिहीबार दिउँसो एक बजे पार्टीको बबरमहलस्थित कार्यालयमा अध्यक्ष ठाकुर र संसदीय दलका नेता महतोले निवर्तमान सांसदहरूको बैठक बोलाएका हुन् । 

    उनी पक्षीय एक नेताका अनुसार सर्वोच्च अदालतले मंगलबार दिएको अन्तरिम आदेश, प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा भइरहेको बहस र पार्टीको आन्तरिक किचलोबारे छलफल हुने बताइएको छ ।  

    त्यस्तै निवर्तमान सांसदहरूको बैठक छिटै सकिए बिहीबार नै र ढिलासम्म चले शुक्रबार कार्यकारिणी समिति सदस्यहरूलाई बैठकका लागि तयार हुन भनिएको एक नेताले बताए । कार्यकारिणी समिति बैठकमा निर्वाचन आयोगले १५ दिनभित्र पार्टीको आधिकारिकताबारे दाबी पेस गर्न भनेकोबारे छलफल हुने नेताहरूले बताएका छन् ।

    केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनलाई समर्थन गर्ने कि बदर गर्न माग गर्ने भन्ने विषयमा जसपामा विवाद छ । ठाकुर समूहले विघटनलाई समर्थन गर्नै ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई विघटन बदरको माग गर्दै सर्वोच्च अदालतसम्म पुगेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय