• असारे विकास : बनेर नसकिँदै भत्किन थाल्याे

  • गौर । जब वर्षा सुरु हुन्छ, विकास निर्माणका योजनाहरूले तीव्रता पाउँछन्। अहिले रौतहटमा पनि यस्तै भइरहेको छ। आर्थिक वर्षको अन्तिम महिना असारमा विभिन्न विकासका योजनाहरू सञ्चालनमा छन्।

    बौधीमाई नगरपालिका–७ र ८ मा पर्ने बंकुल बजारको मुख्य सडक हिलाम्मे छ। सडकको छेउमा नाला निर्माण गरिएको छ। पानी सडकमै जम्छ। उक्त नाला निर्माणकै चरणमा भत्किएको थियो। केही समयपछि मर्मत गरिएको छ।

    बौधीमाई नगरपालिकाकै प्रमुख र पुरानो बजार बंकुल बजारमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले गुनासो समेत गर्दै आएका छन्। स्थानीय सिकेन्द्र यादवले उपभोक्ता समितिमार्फत लिएका काम ठेकेदारलाई जिम्मा दिएका थिए।

    बौधीमाई नगरपालिकाबाट विनियोजित १६ लाख रुपैयाँको लागतमा २ सय ६४ मिटर लम्बाइको पक्की नाला निर्माण गरिएको थियो। चन्द्रपुर नपा–४ स्थित मुख्य चोकबाट देउराली चोकसम्म करिब एक किलोमिटर नाला निर्माण भइरहेको छ। वर्षामा नाला बनाउँदा बजार क्षेत्र हिलाम्मे हुनुका साथै गुणस्तरीय काम नभएको गुनासो छ।

    राजापुर नगरपालिकाको पानीट्यांकीदेखि अकलोवा जाने सडक किनारमा नाला बनेको छ। तर, सडकमा पानी जमेर आवत–जावतमा समस्या छ। जिल्लाको १६ वटा नगरपालिका र दुईवटा गाउँपालिकाको विभिन्न वडाहरूमा दर्जनौं योजनाहरूका काम भइरहेका छन्।

    सडक कालोपत्रे, ग्राभेल हाल्ने, माटो पुर्ने, सिँचाइ, पुलपुलेसा, ढल, कल्भर्ट, तटबन्ध र भवन निर्माणका काम हाल भइरहेका छन्। विनियोजित बजेट असार मसान्तभित्र खर्च गरिसक्नुपर्ने र उपभोक्ता समिति तथा ठेकेदारले असार मसान्तभित्रै काम सम्पन्न गरी भुक्तानी लिनुपर्ने हुँदा योजनाको गुणस्तरमा भन्दा पनि काम सम्पन्न गर्नेमा बढी ध्यान केन्द्रित हुने गरेको पाइन्छ।

    नगरपालिका तथा अन्य विकासे कार्यालय अगाडि ठेकेदार र उपभोक्ता समितिका पदाधिकारीहरूको भीड पनि देख्न सकिन्छ।

    जनप्रतिनिधिहरू विकासको काम भएको र प्रतिबद्धता पूरा गरेँ भन्ने देखाउन असारमै दौडधुप गरिरहेका छन्। पानी परेको बेलामा समेत कालोपत्रे गर्ने काम भइरहेको गुनासो स्थानीयले गर्दै आएका छन्।

    न्यूनतम मापदण्डसमेत पूरा नगरी योजनाहरू सम्पन्न हुँदा एक वर्ष पनि नटिकेको र राज्यको लगानी खेर गइरहेको भन्दै धेरैले चिन्ता व्यक्त गर्दै आएका छन्। 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय