काठमाडौं। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ जना सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, बद्रीवहादुर कार्की, महादेव यादव तथा अधिवक्ताद्वय खम्बवहादुर खाती र गोविन्द बन्दीले बहस गरेका छन्।
वरिष्ठ अधिवक्ता थापाले देउवालाई प्रधानमन्त्रीका लागि प्रतिनिधिसभाका २७५ सांसदमध्ये १४९ ले हस्ताक्षरसहित बुझाएको आधार नै संसदमा विश्वासको मत प्राप्त गर्ने बलियो आधार रहेको बताए।
‘संविधानको धारा ७६ (५) अनुसार नै प्रधानमन्त्री पदमा देउवाका लागि बुझाएको १४९ जनाको हस्ताक्षरसहित दाबी पेस गरेपछि आधार पुग्यो भन्ने बुझिन्छ कि बुझिदैन’, उनले भने, ‘१४९ जना मसँग छ भनेर दाबी पेस गरेपछि ऊसँग बहुमत छैन त ? श्रीमान !’
उनले १४९ जनाको लिखित हस्ताक्षरसहित दाबी गरेपछि नेकपा (एमाले) का २६ जनाले, जसपाका १२ जनाले भोट हाल्न पाउँदैन भन्ने अधिकार राष्ट्रपतिलाई नभएको जिकिर गरे ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रक्रिया पु¥याएका देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने बताए।
उनले राष्ट्रपतिले सांसदलाई मतदानको अधिकारबाट बन्चित गरी संसद विघटन गरेको आरोप लगाए।
थापाले प्रधानमन्त्री छान्ने अधिकार राष्ट्रपतिलाई नभई संसदलाई रहेको स्पष्ट पारे। उनले संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएको प्रधानमन्त्रीले ७६ (४) बमोजिम विश्वासको मत लिनुपर्ने जिकिर गरे।
अर्का वरिष्ठ अधिवक्ता यादवले ७६(५) बमोजिम प्रधानमन्त्रीको पदका लागि देउवालाई समर्थन गरेका १४९ प्रतिनिधिसभाका सांसद दल नभई सभाका सदस्य भएको जिकिर गरे ।
उनले राष्ट्रपति भण्डारीले संविधानको अधिकार प्रयोग गर्ने नभई संविधानले दिएको कर्तव्य निर्वाह मात्र रहेको उल्लेख गरे ।
प्रधानमन्त्री पदका लागि दाबी पुगेन भन्ने अधिकार राष्ट्रपति भण्डारीलाई नभई संसदलाई रहेको उनको भनाइ थियो ।
यस्तै बहसमा वरिष्ठ अधिवक्ता कार्कीले संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नगरेकाले पुनः प्रधानमन्त्रीका लागि ७६ (५)मा दाबी गर्न नमिल्ने बताए ।
संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका प्रधानमन्त्री ओलीले ७६(४) अनुसार विश्वासको मत लिनुपर्ने उनको भनाई थियो।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।