• सरकारले सुरु गर्‍यो चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया

  • सरकारले चीनसँग ४० लाख डोज कोरोना भाइरस विरुद्धको खोप किन्ने प्रक्रिया सुरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएसँगै खोप खरिदको प्रक्रिया सुरु भएको हो ।

    स्वास्थ्य सेवा विभागसँग यसअघि नै सिनोफर्मले मूल्यलगायतका विषयमा ‘नन डिस्क्लोजर एग्रीमेन्ट’ प्रस्ताव गरेको थियो । तर, विभाग आफैँले निर्णय गर्न नसकेपछि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको सीसीएमसी बैठकमा खोप खरिद प्रक्रियाबारे जानकारी दिएका थिए । प्रधानमन्त्री ओलीले साउनदेखि लगाउन सुरु गर्ने गरी चीनबाट ४० लाख डोज खोप ल्याउन लागिएको बैठकमा बताएका थिए ।

    प्रधानमन्त्री ओलीले ४० लाख डोजमध्ये पहिलो लटको १० लाख डोज खोप केही समयमै नेपाल आउने र साउनदेखि लगाउन सुरु गरिने पनि बैठकमा जानकारी दिएका थिए ।

    उपप्रधान एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले खोप खरिद प्रक्रिया सुरु गरेको बताए । उनले ४० लाख चिनियाँसँगै अमेरिकाको जोनसन एन्ड जोनसनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको जानकारी दिए । चिनियाँ कम्पनी सिनोफर्मसँग भएको सहमतिअनुसार खोपको मूल्य भने सार्वजनिक गरिएको छैन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस