काठमाण्डौ – अतिवादी हमासको अपहरणमा परेका विपिन जोशीको रिहाइका लागि सरकारले कूटनीतिक क्रियाशीलतालाई निरन्तर जारी राखेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिरहनुभएको छ ।
यसै क्रममा उहाँले आज बिहान कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोनवार्ता गर्नुभएको छ । मन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवम् मध्यस्थकर्ता हुनुहुन्छ ।
परराष्ट्रमन्त्रीले कतारका मन्त्री डा. खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्नुभएको छ ।
कतारी विदेशराज्यमन्त्रीले युद्धविराम र विपिन जोशीको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरुले प्राथमिकतामा राखेको बताउँदै पहिलो चरणमा उनीहरुले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा जोशी अपहरण मुक्त हुनेमा आफू विश्वस्त रहेको जानकारी मन्त्री देउवालाई दिनुभएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।