• केरा बगानभित्र नाबालिका दिदी–बहिनीको शव फेला, आमा सम्पर्कविहीन

  • मोरङ । मोरङको सुन्दरहरैंचामा आज (शनिबार) दिउँसो केरा बगानभित्र  एकै घरका नाबालिका दिदी–बहिनीको शव फेला परेको छ । सुन्दरहरैंचा  नगरपालिका–७ स्थित नारायण न्यौपानेको केरा बगानभित्र आज दिउँसो ४ः३० बजेतिर एकै घरका नाबालिकाहरु मृत भेटिएका हुन् ।

    धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु एक वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की छिमेकीको केरा बगानभित्र मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । अर्जुनकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने भने सम्पर्कविहीन छन् । केरा बगानभित्र दुई बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    धनकुटा पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन केही समयदेखि पत्नी र दुई नाबालिका छोरीसहित मोरङ सुन्दरहरैंचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएको पाइएको प्रहरीले जानकारी दिएको छ । अर्जुनले नजिकै नयाँ घर पनि बनाउँदै गरेको पाइएको प्रहरीले जनाएको छ । उनीसँग शुक्रबार साँझ पत्नी अस्मिताको विवाद भएको पाइएको प्रहरीले जनाएको छ । 

    श्रीमानसँग विवाद भएपछि नाबालिका छोरीहरुलाई लिएर राति ८ः३० बजेतिर अस्मिता घरबाट निस्किेको प्रारम्भिक अनुसन्धानमा खुलेको डीएसपी बस्नेतले बताएका छन् । दुवै नाबालिकाको शव अंगालो मारेको अवस्थामा आज केरा बगानभित्र भेटिएको हो । दिदी आयिकाले बहिनी अर्पणालाई अँगालो मारेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । सम्पर्कविहीन बनेकी आमा अस्मिताको खोजी तीव्र पारिएको डीएसपी बस्नेतले बताएका छन् । घटनाको प्रकृति हेर्दा दुवै बालिकालाई विष खुवाएर मारे जस्तो देखिने उनले जानकारी दिए । 

    बलिकाहरुको शव फेला भेटिएको ठाउँ स्थान नजिकै कीटनाशक औषधि ‘मेटासिट’ को बट्टा फेला परेको प्रहरीले जनाएको छ । बाहिरी चोटपटक नदेखिएको जानकारी दिंदै बस्नेतले भने, ‘घटनास्थलको प्रकृति हेर्दा विष खुवाएर मारे जस्तो देखिन्छ ।’ छोरीहरुलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको अनुमान छ । अनुसन्धान र आमा फेला परेपछि वास्तविकता पत्ता लाग्ने बस्नेतले बताएका छन् । 

    बालिकाका बुवा अर्जुन प्रहरीको सम्पर्कमै छन् । निर्माणाधीन घरमा पानी लगाउने विषयलाई लिएर पति–पत्नीबीच विवाद भएको पाइएको प्रहरीले जनाएको छ । ‘अर्जुनले आफूसँग विवाद भएपछि दुई नाबालिका छोरी लिएर पत्नी हिँडेको भनेर भनेका छन् । नाबालिकाहरु अहिले मृत फेला परेका हुन्,’ प्रहरी भन्छ, ‘यसअघि पनि पतिसँग विवाद हुँदा अस्मिताले नानीहरु लिएर हिँड्ने र पुनः फर्किएर आउने गरेको पाइयो । वास्तविकता पत्ता लगाउन घटनाको अनुसन्धान जारी छ ।’ कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी प्रहरीले गरेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय