• शासकीय प्रणाली नै नफेरेसम्म देश उँभाे लाग्दैनँ : उपेन्द्र यादव

  • रौतहट । सत्ता गठबन्धनमध्येको एक दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र विकासका लागी शासकीय प्रणालीको फेरबदल अनिवार्य हुने बताएका छन् ।

    जसपा रौतहटले शनिबार यमुनामाई गाउँपालिका वडा नम्बर १ सुकदेव चोकमा आयोजना गरेको पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष यादवले शासकीय प्रणाली फेरे मात्रै देश उँभो लाग्ने बताएका हुन ।

    अहिलेको विकृत संसदीय प्रणालीले भ्रष्टाचार र अनियमिततालाई बढावा दिएको भन्दै शासकीय प्रणाली फेर्नु नै अन्तिम विकल्प भएको अध्यक्ष यादवले बताए ।

    उनले भने,‘ अहिलेको विकृत संसदीय व्यवस्था र निर्वाचन प्रणालीले इमान्दार ब्यक्तिलाई चुनाव लड्न दिंदैन । पूँजिपतिहरुको हातमा मुलुकको शासन व्यवस्था जान थालेको छ । करोडौं खर्च गरेर चुनाव जित्ने व्यक्तिबाट सुशासन र समृद्धिको आशा गर्नु कोरा कल्पना मात्र हुने छ ।’

    वर्तमान बेथितीबाट मुलुकलाई बाहिर निकाल्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपाति संसदीय व्यवस्था एक मात्र विकल्प रहेको उनको भनाई थियो । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले सरकार संचालन गर्ने भएपछि भ्रष्टाचार आफैं नियन्त्रण हुने दाबी गरे । अध्यक्ष यादवले जसपाको अगामी लडाई शासन प्रणालीकै विषयमा हुने उद्घोष पनि गरे ।

    कार्यक्रममा संघीय सरकारका संघीय व्यवस्था तथा समान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले संघीयताको कार्यान्वयनका लागी पार्टीले आफूलाई जिम्मेवारी दिएर सरकारमा पठाएको बताए ।

    उनले आफूले पाएको जिम्मेवारीबाट संघीयताप्रेमी जनतालाई निराश हुन नदिने जिकिर गर्दै प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन आफूले काम शुरु गरिसकेको जानकारी पनि दिए ।

    कार्यक्रममा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले परम्परागत पार्टीहरुले मुलुकको आमूल परिवर्तन गर्न असफल भैसकेको भन्दै त्यसका लागि जसपा एक मात्र विकल्प रहेको जिकिर गरे ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय