काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ ।
एमालेले स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको छ । विवरण अनुसार एमालेको मुख्य एजेण्डा आगामी महाधिवेशन रहेको छ । १० देखि १२ मंसिरमा १०औँ राष्ट्रिय महाधिवेशन तय भइसकेको छ । जसअनुसार ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदैछ ।
आज बैठक यही विषयमा केन्द्रित रहने नेताहरूले जानकारी दिएका छन् । राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेशलाई बैठकको एजेण्डा बनाइएको छ ।विधान महाधिवेशनको समीक्षा गरिनेछ । एमालेको प्रथम विधान महाधिवशेन १५-१७ असोजमा भएको थियो । यसैगरी, असोज अन्तिम सातादेखिको अविरल वर्षापछिको बाढीपहिरोले ९२ जनाको ज्यान गएको छ भने धानबाली नष्ट भएको छ । यो विषयमा पनि स्थायी कमिटीमा छलफल हुनेछ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।