• गाउँ–सहर यात्रामा यसरी रोकौं कोरोना संक्रमण

  • देशभर ३२ प्रतिशतले खोप लगाइसके। त्यसैले हामी केही हदसम्म सुरक्षित छौँ भनेर पनि हेर्न सकिन्छ। उपत्यकामा ७० प्रतिशतभन्दा बढीले खोप लगाइसकेका छन्। खोप जति धेरैले लगाए, उति भाइरस फैलिने सम्भावना कम हुन्छ।

    खोप लगाएपछि संक्रमित भए पनि अस्पताल नै जानुपर्ने सम्भावना कम हुन्छ। अस्पतालको बेड कम ओगटिन्छ। अस्पतालमा जति बढी भर्ना भयो, त्यति थेग्न नसक्ने चाप बढ्दै जान्छ। डाक्टर, नर्सको अभाव हुने हुन्छ। बेड, स्वास्थ्यकर्मी अभाव हुनेबित्तिकै बिरामीले गुणस्तरीय सेवा पाउँदैनन् र मृत्युको सम्भावना बढ्छ।

    तर, खोप लगाउनु भनेको संक्रमणको सम्भावनाबाट मुक्त हुनु होइन। खोप भनेको संक्रमित भइसकेपछि आउने जटिल अवस्था वा मृत्युको सम्भावनालाई कम गर्ने मात्र हो। त्यसो हुँदा अस्पताल भरिभराउ हुँदैन। र, जो जो अस्पताल आउनैपर्ने हुन्छ, तिनले राम्रो उपचार पाउँछन् अनि मृत्युदर कम हुन्छ भन्ने हो। 

    दोस्रो लहरमा अस्पतालमा बेड नपाउने, अक्सिजन अभाव हुने अवस्था हामीले भोग्यौँ। खोप आइसकेकाले अब त्यस्तो अवस्था हुँदैन होला। तर, जतिसक्दो चाँडो खोप लगाउनुपर्छ।

    जति धेरै जनसंख्यालाई खोप लगायो, त्यति बढी सुरक्षित भइन्छ। ‘हर्ड इम्युनिटी’ का लागि ७०–८० प्रतिशतलाई खोप लगाउनुपर्छ भन्ने पनि छ। त्यति जनसंख्यालाई खोप लगायौँ भने भाइरस फैलिए पनि नियन्त्रणमा ल्याउन सजिलो हुन्छ। 

    चाडपर्वमा चहलपहल हुन्छ। ठूलो जनसंख्या सहरबाट गाउँसम्म र गाउँबाट फेरि सहरसम्म यात्रा गर्छ। काठमाडौँबाट संक्रमितहरुले भाइरस बोकेर गाउँघरमा फैलाउँछन् कि, अथवा हामी भाइरस फैलाउने माध्यम बनेर गाउँ त पसिरहेका छैनौँ भन्ने प्रश्न पनि छ। यसमा एउटा कुरामा एकदमै विचार पुर्याउनुपर्छ। खोप लगाए पनि जनस्वास्थ्यका मापदण्डलाई पालना गर्न भुल्नु भएन। 

    डेल्टा भेरियन्टबाट संक्रमितहरुमा खोप लगाएका र नलगाएकामा भाइरल लोड उस्ताउस्तै पाइएको छ। खोप लगाएपछि अब के हुन्छ र! म जहाँ नि जान्छु, जे नि गर्छु भन्ने सोच आउला। त्यो स्वार्थीपन हुन्छ। खोप लगाउने मान्छे त सुरक्षित होला तर अरु सुरक्षित हुँदैनन्। कतै खोप लगाइरहेकाहरुले नै कोरोना त फैलाइरहेका छैनन् भन्ने प्रश्न पनि छ।

    यहीबेला चाडपर्वमा भारतलगायत अन्य देशबाट पनि थुप्रै नेपालीहरु नेपाल भित्रिन्छन्। नाकामा गरिने जाँचलाई निरन्तरता दिनुपर्छ तर व्यवहारिक रुपमा त्यो अलि कठिन हुन्छ। खुला सिमाना छ। त्यसैले विदेशबाट आउनेहरुबाट सुरक्षित रहन स्थानीय सरकारको भूमिका महत्वपूर्ण देख्छु। स्थानीय निकायलाई त गाउँमा को नयाँ आएको छ, थाहा हुन्छ नि। त्यस्ता व्यक्तिको परीक्षण गर्न सके वा क्वारेन्टिनमा राख्न सके धेरै सुरक्षित हुन सकिन्छ। त्यो फैलिन पाउँदैन। 

    अघिल्लो पटकको भन्दा यो पटकको दसैँ खोप लगाएका कारण अलि सुरक्षित मान्न सकिन्छ। हामीले कहाँ बढी खोप लगाएका छौँ भन्ने कुराले पनि निर्धारण गर्छ। खोप लगाएका मानिसहरुको संख्या अत्यन्त कम भएको ठाउँमा कोरोना फैलिन सक्छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस