सत्ता गठबन्धन तदका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा सबै दलले आ-आफ्ना पार्टीका तर्फबाट मन्त्रीहरूको नाम प्रस्ताव गर्दै छन् । मन्त्रिपरिषद् विस्तार पूर्णतालाई अन्तिम रुप दिने गठबन्धनको तयारी छ ।
एकीकृत समाजवादीले मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बिहान बसेको उक्त पार्टी स्थायी समिति बैठकले नेपाललाई जिम्मा दिएको हो ।
जसपाले अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको छ ।
माओवादी केन्द्रले भने बुधबार नै आफ्नो पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नाम टुंग्याइसकेको छ ।
यसअघि कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपाले ४/४ मन्त्रालय लिने सहमति भएको थियो । कांग्रेसले गृह, परराष्ट्र र कानुन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिइसकेको छ।
अब, सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय कांग्रेसले लिनेछ । माओवादी केन्द्रले अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लिइसकेको छ भने अब शिक्षा तथा विज्ञान प्रविधि, खानेपानी, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लिनेछ ।
यस्तै एकीकृत समाजवादीले उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, श्रम रोजगार तथा सामजिक सुरक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पाउने भएको छ । जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपन्छी मन्त्रालय पाएको छ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस)ले एक/एक राज्यमन्त्री पाउने सहमति भएको छ । गठबन्धनबीच जसपालाई उपसभामुख दिने सहमतिसमेत भएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।