प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बसेको छ ।प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा बोलाएको पदाधिकारी बैठक सुरु भएको हो ।
सरकारमा सहभागी हुने नेताहरूको नाम टुंग्याउन तीनवटै गुटका शीर्ष नेताहरू बैठकमा जुटेको र मन्त्री बन्नेहरूको नाम आजै टुंग्याउने बताइएको छ । पदाधिकारी बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले आ-आफ्नो समूहसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डा गरेको छ, जस अनुसार कांग्रेसले सातवटा मन्त्रालय पाउने टुंगो लागेको छ । अहिले सरकारमा कांग्रेसका तर्फबाट गृहमा बालकृष्ण खाँण, परराष्ट्रमा डा. नारायण खड्का, कानुन, न्याय तथा संसदीय मामिलामा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।