उपचारका क्रममा एक बालिकाको ज्यान गएपछि पाँचथर जिल्ला अस्पताल दिनभर तनावग्रस्त बनेको छ । उपचाररत किशोरीलाई इन्जेक्सन लगाएलगत्तै निधन भएपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको हो
इन्जेक्सन लगाएलगत्तै १३ वर्षीया बालिका कृष्टिना थाम्सुहाङको निधन भएपछि मृतकका आफन्तले छानबिनको माग गर्दै अस्पतालबाहिर आन्दोलन गरेका हुन् ।
फालेलुङ गाँउपालिका–८ स्थायी घर भई फिदिम नगरपालिका–२ पल्लोटारमा बसोबास गर्दै आएकी मृतक बालिका कृष्टिनाका बुवा कमल थाम्सुहाङले स्वास्थ्यकर्मीको लापरबाहीका कारण छोरीको ज्यान गएको आरोप लगाए ।
ज्वरो आएपछि १९ असोजमा अस्पताल भर्ना गरिएकी क्रिष्टिनाको बुधबार बिहान साढे ७ बजे निधन भएको हो । अस्पताल आएपछि स्वास्थ्यमा सुधार आएर आजै डिस्चार्ज गर्न लागिएकी किशोरीलाई राउन्डमा आएका चिकित्सकले सुइ लगाइदिएलगत्तै निधन भएको मृतकका आफन्तले जनाएका छन् ।
स्वास्थ्यकर्मीले कृष्टिनालाई इन्जेक्सन लगाउनेबित्तिकै उनी बेहोस भएको र केही समयमै ज्यान गएको काका युवराज थाम्सुहाङले जनाए । अस्पतालले चित्तबुझ्दो जवाफसहित घटनाको यथार्थ सार्वजनिक नगरेसम्म शव नबुझ्ने आफन्तले अडान लिएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।