• ३३ किलो सुन प्रकरण: बढुवा हुनेबेला पक्राउ परेर जेलबाटै अवकाश पाएका एसएसपी खत्रीको अन्तर्कथा

  • काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करसँग मिलेको आरोप लागेका एसएसपी श्यामबहादुर खत्री दुईपटक पक्राउ परे ।

    २०७३ माघ २३ मा ३४ किलो सुन र २०७५ जेठमा ३३ किलो सुन प्रकरणमा उनी मुछिए । पहिलो मुद्दाबाट सफाइ पाएर जागिरमा फेरि फर्किएका खत्रीले दोस्रो पटक भने जेलबाटै अवकाश पाए । केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको पिंगलास्थानबाट बरामद गरेको सुनमा नाम जोडिएपछि उनी २०७३ माघमा पक्राउ परेका थिए ।

    सो मुद्दामा साधारण तारेखमा छुटेपछि प्रहरी प्रधान कार्यालयमा हाजिर भएका खत्रीको नाम फेरि चूडामणि उप्रेती ‘गोरे’ ले ल्याएको ३३ किलोमा जोडियो ।

    दोस्रोपटक २०७५ जेठमा उनले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो । सुनसरीस्थित झुम्का कारागारमा ३ वर्ष बस्दा खत्रीले त्यहिँ अवकाश पाए। जेल चलान हुँदा उनी डीआईजी बन्ने लाइनमा थिए ।

    सोमबार मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालले तस्करीको प्रमाण नपुगेको ठहर गर्दै खत्रीसहित ३३ किलो सुनमा जोडिएका सबै प्रहरी अधिकृतलाई सफाइ दिएका छन् । न्यायाधीश लम्सालले सनम शाक्य हत्या मुद्दामा ८ जनालाई कैद सजाय हुने फैसला सुनाएका छन् ।

    जागिरमा रहँदा जेल गएका खत्रीले जेलमा अवकाश मात्रै पाएनन्, ३ वर्ष जेल बसेपछि उनी निर्दोष ठहरिएका छन् । श्याम खत्रीसँगै जेलमा थिए डिएसपी सञ्जय राउत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोष्टिङ भएका कारण तस्कर समूहलाई सहयोग गरेको आरोप लागेका राउत पनि ३ वर्ष थुनामा बसेपछि निर्दोष ठहरिएका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय