• मनसुन अझै केही दिन सक्रिय हुने : यसपालि दसैं हिले हुने अनुमान

  • नेपालबाट मनसुन (वर्षा गराउने प्रणाली) बाहिरिने औसत मिति (अक्टोबर २) गुज्रेको तीन दिन भइसकेको छ। तर मनसुन हट्ने संकेत अझै नदेखिएको मौसमविद्ले बताएका छन्। 

    मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अरू हप्ता दस दिनसम्म मनसुन नेपालबाट बाहिरिने लक्षण देखिएको छैन। 

    ‘घटनास्थपनाका दिनसम्म पनि वर्षा हुने संकेत देखिएको छ’, मौसमविद् मानन्धरले मंगलबार बिहान नेपालखबरसँग कुरा गर्दै भनिन्, ‘फुलपातिसम्म जाने नजाने सम्भावना अलि कम छ।’ ​

    यसपटक लामो समय मनसुन बसेको हो?
    मौसमविद् मानन्धरका अनुसार होइन।

    मौसमविद् मानन्धरका अनुसार अहिलेसम्मकै लामो समय नेपालमा मनसुन सन् २०१३ मा अक्टोबार १९ तारिखसम्म बसेको थियो भने यसपछि पनि २/३ वर्षअगाडि (अहिले ठ्याक्कै मिति याद भएन) अक्टोबर १३ तारिखसम्म मनसुन नेपालमा रहेको थियो। 

    ‘अहिले त भर्खर अक्टोबर ५ तारिख भएको छ, यसपटक १९ तारिखसम्मै मनसुन रहने सम्भावना अलि कम देखिएको छ’, उनले भनिन्। ​

    आज मौसम/वर्षा? 
    मौसमविद् प्रतिभा मानन्धरसँग नेपालखबरले कुरा गरेका बेला मंगलबार बिहान साढे ६ बजेतिर बागमती, लुम्बिनी र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको छ। यसभन्दा तीन घण्टाअगाडिको रेकर्ड हेर्दा प्रदेश १ र २ मा पनि पानी परेको थियो। 

    मौसमविद् मानन्धरका अनुसार गत २४ घण्टादेखि देशका विभिन्न स्थानमा पानी पर्ने, रोकिने र फेरि पर्ने क्रम जारी छ। 

    ‘अब वर्षा भएका ठाउँमा पानी बिस्तारै रोकिने क्रममा छ’, मौसमविद् मानन्धरले भनिन्, ‘तर बिहानभरि घाम लागेजस्तो भए पनि दिउँसो फेरि बादल लागेर साँझ वा राति वर्षा हुने सम्भावना छ।’

    उनका अनुसार काठमाडौं उपत्यकामा पनि २४ घण्टायता पानी पर्ने रोकिने फेरि पर्ने क्रम जारी छ।

    ‘अहिले पनि कतै कतै सिमसिम पानी परिरहेको हुन सक्छ’, उनले भनिन्, ‘अब रोकिने क्रममा छ। तर फेरि दिउँसो बादल लागेर साँझ वा राति पानी पर्ने सम्भावना छ।’

    उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४० मिलिमिटर वर्षा भएको छ। यो भनेको मध्यम वर्षा हो।

    मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधिलाई बुझ्नुपर्छ) देशभर मौसम आंशिक (धेरै आकाश खुला, थोरैमा बादल) देखि सामान्य (धेरै बादल, थोरै खुला) बदली हुनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

    यस्तै राति (भन्नाले साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मको अवधि) देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय