सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दाको पेसी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नै इजलासमा तोकेका छन् । राणाले आफू र न्यायाधीश सपना प्रधान मल्लको इजलासमा उनीहरू विरुद्धको मुद्दाको पेसी राखेका हुन् ।
पहिलो प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक भएको दाबी गर्दै विज्ञप्ति जारी गरेका आधारमा पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अधिवक्ता लोचन भट्टराईले अवहेलना मुद्दा दायर भएको थियो । ओलीले पुस ५ गते बहुमतको सरकार सञ्चालन गरिरहेको समयमा पार्टीको आन्तरिक विवादलाई देखाउँदै प्रतिनिधि सभा विघटन गरेका थिए ।
उक्त कार्य संविधानविपरीत भएको भन्दै पूर्वप्रधानन्यायाधीशहरुले संयुक्त विज्ञप्तिमार्फत विरोध जनाएका थिए। त्यसविरुद्ध अधिवक्ता भट्टराईले माघ १४ गते सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।