• मिथिलामा मनाइने जितिया पर्व समापन

  • काठमाडाैं। सन्तानको सौर्य वृद्धि, सुस्वास्थ्य, दीर्घजीवन र कल्याणको कामनासहित सन्तानवती आमाले जितिया पर्व आज साँझ समापन गरेका छन् ।

    पितृपक्ष (असोज कृष्णपक्ष) को लाग्दो अष्टमीसँगै एक अहोरात्र निर्जला व्रत गरिने जितिया आज नवमी तिथि प्रारम्भ भएपछि एक घडी कटाएर साँझ ५ बजे व्रतालु आमाले सम्पन्न गरेका हुन् ।

    यसअघि सोमबार पवित्र स्नान गरेर चोखोनितो खाई व्रत संकल्प गरेका सन्तानवती आमाले मंगलबार बिहान सूर्याेदय हुन चार घडीपूर्व ‘ओगटन’ (दर) खाएर निराहार व्रत सुरु गरेका थिए ।

    अष्टमीको एक अहोरात्र र नवमी तिथि एक घडी कटाएर मात्र समापन गर्न सकिने व्रत विधानले व्रतालुको यसपालिको व्रत ३६ घण्टाभन्दा बढी भएको छ । देवदूत जितवाहनको आरधना गरिने यो व्रतको प्रभावले सन्तान सुयोग्य, दीर्घजीवी, स्वस्थ्य र कर्तव्यपरायण हुने मैथिल जनविश्वास छ ।

    पितृपक्षको अष्टमी तिथिको भोग रहने पूर्वरातमा ‘ओगटन’ (दर) खाएर अष्टमी तिथिको व्रत सुरु गरिन्छ ।

    यस्तो ‘ओगटन’ अष्टमी लाग्ने दिनको सूर्योदय हुन चार घडिपूर्व खाइसक्नु पर्ने व्रत परम्परा रहेको मिथिलानी (मिथिलाका नारी) बताउँछन् । ‘ओगटन’ मा दहीचिउरा खाने मैथिल परम्परा छ ।

    सन्तानको सौर्यवृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी मिथिलामा केही दिन पहिले नै सुरु हुने गर्छ ।

    यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुञ्जेल थुक निल्नु, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँँडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको रहेको मिथिला परम्परा र कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित (प) महेशकुमार झा बताउछन्।

    ‘सन्तानको दीर्घजीवन, सौर्यवृद्धि र कल्याणको कामना गर्दै आमाले गर्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र जागर प्राप्त हुने वा भएको मैथिल हिन्दू जनविश्वास छ’, कर्मकाण्डका ज्ञाता झाले भने, ‘कुनै मानिस लुरे, डरछेरुवा वा हुतिहारा देखिए यसका लागि आमाले जितिया व्रत गरिनछन् भन्ने टिप्पणी जोसुकैले गर्ने गर्छन् ।’

    मिथिलामा व्रतबारे गरिने यस्ता टिप्पणीले नै यसको महत्तो बुझ्न सकिने झाको थप भनाइ छ।

    सन्तानको कल्याण र सौर्य वृद्धिको कामना पूरा गराउन सन्तानवती मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन तर्पण गर्ने गर्छन् ।

    यस व्रतमा पुरुषले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूहरुले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको पछिल्ला २० वर्षदेखि जितिया व्रत बस्दै आएकी महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–९ पशुपतिनगरकी ५५ वर्षीया दिपियादेवी महतो बताउछिन्।

    पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्रत सङ्कल्प गरिन्छ ।

    व्रतालुले दिवङ्गत सासू, जेठानी, बूढीसासु, नन्द, आमाजु र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्ध’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितको भनाइ छ ।

    सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र/पौत्री (नाति/नातिनी), प्रपौत्र/प्रपौत्री (पनाति/पनातिनी) र उनका सन्तानको कल्याण गर, उनीहरुलाई दीर्घजीवी बन्ने आशिर्वाद देउ’ भन्ने कामना गरिन्छ ।

    व्रत अवधिमा व्रतालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी हउन् भन्ने कामना गर्छन् ।

    अघि द्वापरयुगमा एक जना विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइ दिएको पौराणिक कथाका आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको पाका मैथिल बताउँछन् ।

    राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै सुरु भएको हुनसक्ने महोत्तरीको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापिठ) का नेपाली भाषा साहित्य विषयका उपप्राध्यापक ध्रुव रायको भनाइ छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस