काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय कमिटीमा कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने सुझाव आएको छ । यस्तै उपाध्यक्ष र सचिव ७–७ जना राख्न पनि नेताहरुले सुझाव दिएका छन् ।
दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत दस्तावेजमाथि समूहगत छलफलको निष्कर्ष राख्दै नेताहरुले यस्तो सुझाव दिएका हुन् ।
१० वटा समूह बनाएर तीन वटा दस्तावेजमाथि छलफल भएको थियो। सबै समूहले ७ जना उपाध्यक्ष राखेर उनीहरुलाई प्रदेश ईन्चार्ज बनाउन सुझाव दिएका छन् ।
हाल प्रस्ताव गरिएको विधान संशोधन प्रस्तावमा ३ जना उपाध्यक्ष राख्ने उल्लेख छ।
केपी शर्मा ओली अध्यक्षमा पुनः दोहोरिने अनुमान गरिएको छ । यस्तो अवस्थामा ईश्वर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापालगायतका नेताहरुको व्यवस्थापनमा समस्या उत्पन्न हुने देखिएको छ ।
विधान संशोधन प्रस्तावमा पोलिटब्युरो नराख्ने उल्लेख भएपनि समूहगत छलफलमा पोलिटब्युरो कायमै राख्नुपर्ने सुझाव आएको छ ।
त्यस्तै अध्यक्षको नेतृत्वमा रहने गरी प्रस्ताव गरिएको ७ सदस्यीय केन्द्रीय सचिवालय भने नराख्न नेताहरुको सुझाव छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।