• आज ६४ जिल्लामा कांग्रेसको पालिका अधिवेशन

  • काठमाडौं । संस्थापनइतर समूहले सबै पालिकाको अधिवेशन एकै दिन गर्न माग गरे पनि ६४ जिल्लाका पालिकास्तरीय अधिवेशन आज हुँदै छ । २१ वटा हिमाली जिल्लाको अधिवेशन पनि असोज १८ गते गर्ने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको छ । प्रदेश २ का ८ सहित १३ जिल्लाको वडा अधिवेशन अझै हुन सकेको छैन ।

    संस्थापनइतर समूहका नेता अर्जुननरसिंह केसीले विवादित १३ जिल्लाको वडा अधिवेशन सकेर देशभर एकैपटक अन्य तहको अधिवेशन गर्नुपर्नेमा नेतृत्वले जबर्जस्त ढंगले काम गरिरहेको बताए । ‘सबै तहको निर्वाचन देशभर एकैपटक गर्नुपर्छ भन्ने हाम्रो अडान कायमै छ,’ उनले भने, ‘विवादलाई थाती राखेर हिमाल, पहाड, तराईका नाममा छुट्टाछुट्टै मितिमा निर्वाचन गर्नु भनेको निर्वाचन निष्पक्ष नगर्ने संकेत हो ।’

    केन्द्रीय निर्वाचन समितिले भदौ २५ मा निर्वाचन कार्यतालिका संशोधन गर्दै असोज ५ गतेभित्र सबै वडा अधिवेशन, असोज ९ गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन तथा असोज १८ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।

    तर पदाधिकारी बैठकले कार्यतालिका संशोधन गरेपछि विरोध सुरु भएको छ । सभापतिमा उम्मेवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले निर्वाचन समितिको क्षेत्राधिकारमाथि हस्तक्षेप गरी भएको संशोधन मान्न नसकिने बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय