• म्यानचेस्टर र भिल्लारियल फाइनलमा

  • एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब भिल्लारियल युरोपा लेगको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा इटालियन क्लब रोमासँग ३–२ ले पराजित भए पनि समग्रमा ८–५ को जित निकाल्दै युनाइटेडले फाइनलमा स्थान पक्का गरेको हो ।

    युनाइटेडले पहिलो लेगमा ६–२ को फराकिलो जित निकालेको थियो । दोस्रो लेगमा सफलता हात पारे पनि पहिलो लेगमा भोगेको फराकिलो हारका कारण रोमा फाइन्लमा पुग्न असमर्थ बन्यो । घरेलु मैदानमा बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा रोमाको जितमा इडेन जेको र ब्रायन क्रिसटान्टेले गोल गर्दा एक गोल उपहार पाएको थियो । युनाइटेडका लागि दुवै गोल इडिन्सन काभानीले गरेका थिए । रोमामा भएको खेलमा युनाइटेडले खेलको ३९औं मिनेटमा इडिन्सन काभानीको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिएका थियो । उनले एलेक्स टेलासको पासमा गोल गरेका थिए ।

    ५७औं मिनेटमा इडेन जेकोले पेड्रो रोड्रिग्वेजको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि नै ६०औं मिनेटमा ब्रायन क्रिसटान्टेले लोरेन्जो पेलिग्रिनीको पासमा गोल गर्दै रोमालाई २–१ को अग्रता दिलाए । ६८औं मिनेटमा काभानीले ब्रुनो फर्नान्डेसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको अवस्थामा ल्याए । ८३औं मिनेटमा एलेक्स टेलासले आत्मघाती गोल गरेपछि रोमाले खेल ३–२ ले आफ्नो पक्षमा पारेको थियो ।

    यस्तै इंग्लिस प्रतिद्वन्द्वी आर्सनललाई पाखा लगाउँदै स्पेनिस क्लब भिल्लारियलले युरोपा लिगको फाइनलमा स्थान बनाएको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेग गोलरहित बराबरीमा टुंगिए पनि पहिलो लेगमा पाएको २–१ को जित नै भिल्लारियललाई फाइनलमा पुग्न पर्याप्त बन्यो । इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा घरेलु टोली आर्सनलले बल पोसेसनमा पकड बनाए पनि फिनिसिङ गर्न नसक्दा खेल बराबरीमा टुंगियो । अब भिल्लारियलले उपाधिका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । फाइनल २७ मेमा पोल्यान्डमा हुनेछ । युनाइटेडले इटालियन क्लब रोमलाई पन्छाउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय