काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले खेल्ने आईसीसी वुमन्स टी–२० विश्वकप एसिया छनोट आगमी नोभेम्बरमा हुने भएको छ ।
यसअघि सेप्टेम्बर २० देखि २६ सम्म हुने भनिएको उक्त प्रतियोगिता आईसीसीले नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण प्रतियोगिता दुई महिनापछि सरेको हो । प्रतियोगितामा नेपाल, भूटान, चीन, हङकङ, कुवेत, म्यानमार, मलेसिया र यूएई गरी आठ देशको सहभागिता रहनेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपको लागि नेपालले एसिया छनोट खेल्नेछ । एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपका लागि स्थान बनाउनेछन् । नेपाली महिला क्रिकेट टोली पनि पहिलो विश्वकप खेल्ने लक्ष्यमा छ । नेपाली महिला टोलीले पछिल्लोपटक अन्तर्राष्ट्रिय खेल गत वर्ष १३औं दक्षिण एसियाली खेलकुद (साग)मा खेलेका थिए । नेपाली महिला क्रिकेटका पछिल्लो समय दुई घरेलु प्रतियोगिता भएका छन् । पछिल्लो समय गत पुषमा दाङको लमहीमा टी–२० राष्ट्रिय प्रतियोगिता भएको थियो । चैतमा काठमाडौंमा ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० प्रतियोगिता भएको थियो । कोरोना दोस्रो चरणका कारण नेपालले तत्काल कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेल्ने छैन ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।