![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/09/Ukhu-Kisan1627560287.jpg)
सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो ।
उद्योगीबाट समयमै भुक्तानी नपाएर हैरान भएका जिल्लाका उखु उत्पादक किसानलाई सरकारले समेत अनुदान रकम भुक्तानीमा आलटाल गरिरहेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उनका अनुसार भुक्तानीको झन्झटले उखु उत्पादक किसान उखुखेतीबाट निरुत्साहित हुँदै अन्य खेतीतर्फ लागेका छन् ।
यता कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका निमित्त प्रमुख दामोदर पौडेलले अनुदान रकम वितरणका लागि दुई साताअघि कार्यालयलाई रु २० करोड सात लाख बजेट प्राप्त भइसकेको जानकारी दिए । उनले भने, “अहिले रोक्का भएको बजेट खुल्नेबित्तिकै दशैँअघि नै उखु उत्पादक किसानलाई अनुदान वितरण गरिने छ ।”
अनुदान वितरणका लागि इन्दुशङ्कर चिनी उद्योग हरिवनबाट उखु किसानको विवरण लिइसकेको र महालक्ष्मी चिनी उद्योग बगदहले एक/दुई दिनमै विवरण उपलब्ध गराउने बताएको कोलेनिकाका निमित्त प्रमुख पौडेलले बताए ।
चाडपर्वको समयमा अनुदान रकम उपलब्ध गराइदिन उखु किसानले सरकारसँग माग गरेका छन् भने उखुको भुक्तानी लिन किसानले हरेक वर्ष आन्दोलन गर्दै आइरहेका छन् । जिल्लामा तीनवटा चिनी मिल रहेको भए पनि इन्दुशङ्कर चिनी उद्योग हरिवनले समयमै भुक्तनी दिए पनि महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौलले भने भुक्तानीमा ढिलाइ गरेको उखु किसानले गुनासो गरेका छन् ।
गत वर्षदेखि नै बन्द रहेको अन्नपूर्ण चिनी उद्योगले उखु किसानको पुरानो भुक्तानीसमेत दिन सकेको छैन ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)