• संविधानकाे भावना जनताले महसुस गर्ने गरी प्रयत्न गरिरहेका छाैँ : देउवा

  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको भावनालाई जनताको जीवनमा महसुस गराउने गरी कार्यान्वयन गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् ।

    ७ औं संविधान दिवसका अवसरमा शुभकामना व्यक्त दिंदै प्रधानमन्त्री देउवाले थुप्रै चुनौतीहरुका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै देशको उन्नती सुनिश्चित गर्न सबैले संकल्प गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गरे ।

    मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवाले परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुपरेका व्यक्तिलाई उच्च सम्मानपूर्वक स्मरण गरे ।

    प्राकृतिक विपद् र कोभिड–१९ को महामारीबाट अकालमा ज्यान गुमाउन पुगेका नागरिकहरुप्रति पनि प्रधानमन्त्री देउवाले श्रद्धासुमन व्यक्त गरे ।

    कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकारका पालामा संविधानसभाबाट विसं २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताए ।

    प्रधानमन्त्री देउवाले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट नेपाली नागरिकको जीवनरक्षा गर्न आगामी चैत मसान्तभित्र सबै नेपाली नागरिकलाई पूर्ण खोप लगाउनु वर्तमान सरकारको मुख्य लक्ष्य रहेको पनि दोहोर्याए ।

    स्वास्थ्यका मापदण्डको पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका साथ कोभिड–१९ महामारीको सामना गर्न संविधान दिवसको अवसरमा प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गरे ।

    संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ बनाउँदै मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता रहेको प्रधानमन्त्री देउवाको भनाई छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय