• कानुन निर्माणका हिसाबले संघीय संसद् ठीक बाटोमै छः सभामुख

  • काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटाले संविधान र संघीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले मूलभूतरुपमा संघीय संसद् ठीक बाटोमै अघि बढिरहेको बताएका छन्।

    राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा आज आयोजित विधायिकी खुल्लापन र लोकतन्त्र मेला कार्यक्रममा उनले पछिल्लो समयमा भएका बहस, छलफल र गतिविधि विश्वकै लागि अध्ययन गर्ने ठूलो विश्वविद्यालय बनेको धारणा व्यक्त गरे ।

    सभामुख सापकोटाले भने, ‘समुद्र मन्थन गरेझैँ धेरै छलफल र बहसका साथ जारी भएको नेपालको संविधान महत्वकांक्षी छ, जनतालाई अधिकार प्रदान गर्ने हिसाबले विशिष्ट र मौलिक छ । लोकतन्त्र भनेको भाषणमा होइन व्यवहारमा अभ्यास गर्ने विषय हो ।’

    संघीय संसद्को ओजलाई माथि उठाउन सबैले भीष्म प्रतिज्ञा र संकल्प गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने, ‘संविधान कार्यान्वयनमा दूरदर्शिता र प्रतिबद्धता पाटोमा कमजोरी छ । कार्यसम्पादनमा देखिएका कमी कमजोरी सुधार, परिमार्जनका लागि कडा मिहिनेत र इमान्दार प्रयास आवश्यक छ ।’

    प्रतिनिधिसभा विघटन प्रतिनिधिसभाले मात्र गर्न सक्ने व्यवस्था हुन आवश्यक रहेको बताउँदै उनले भने, ‘संविधान र संघीयताको प्रभावकारी कार्यान्वयनका लागि कानुन निर्माण लगायतका विषयमा केकस्ता कमजोरी भए त्यसको गम्भीर आत्मसमीक्षा गरिनुपर्छ ।’

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान र संघीयता कार्यान्वयनको प्रतिफल नागरिकले के कति प्राप्त गर्न सके त्यसको गहन समीक्षा हुनुपर्ने धारणा राखे ।

    उनले भने, ‘विधि बनाउने मुख्य जिम्मेवारीमा हाम्रो पहल कस्तो रह्यो, सुशासनका माध्यमद्वारा मुलुक र नागरिकलाई समृद्ध बनाउन भएका प्रयासको समीक्षा हुनुपर्छ, हाम्रो मिहिनेतले इतिहासको कठघरामा इमान्दारपूर्वक काम गरेको भन्ने छवि बनोस् ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय